तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ!

झमक्क साँझ परिसकेको छ माडीको लक्ष्मीनिवास पुग्दा।

डेढ घन्टा मात्र भनेका थिए चालक अर्जुन सुवालले तर ठ्याक्कै दुई घन्टा पो लाग्यो। माडीस्थित ‘माडी सामुदायिक होमस्टे’ आइपुगेपछि भरतपुरदेखि गरेको हाम्रो यात्रामा पूर्णविराम लाग्छ।

माण्डव्य ऋषिको तपस्थल। पाण्डवहरूले गुप्तवास बसेको क्षेत्र। सोमेश्वर काली, वाल्मीकि आश्रम, परशुराम कुण्ड, गोद्दक बाबा, विक्रम बाबाजस्ता पवित्र धार्मिक भूमिलाई आफ्नो छातीमा चपक्क च्यापेको छ माडीले।

हामीले होमस्टेमा पाइला राख्नासाथ स्वागत गर्छन् तुलसीराम रेग्मी र उनकी छोरी नम्रताले। निधारमा टुपुक्क एक ट्याप टीका लगाइदिन्छन् तुलसीराम। एकेक थुंगा फूल हातमा राखिदिँदै भन्छिन् नम्रता– माडी होमस्टेमा यहाँहरूलाई स्वागत छ!

परम्परागत घर। मझेरीलाई बारेर एकापट्टि बनाइएको छ आफूहरू सुत्ने कोठा। अर्कोपट्टि निकालिएको छ साँघुरो भान्छा कोठा। माथिल्लो तलामा उक्लनका लागि लिस्नो ठड्याइएको छ मझेरीको पूर्वी कुनामा।

भाँडाकुँडाले टन्नै भरिएको छ भान्छा कोठाको भित्तामा अड्याइएको दराज। दलिनमा घुसारिएको छ मोही पार्ने नेतीसहितको मदानी। कुँडेभरि दूध बसालिएको छ चुलामा। यदुनाथ भट्टराईको आग्रह बमोजिम छोइलाका लागि हाँसको मासु भटाभट आगोमा सेकाउँदै छन् तुलसीराम। छोरी गाजर र मूला टुक्र्याउँदै।

सोच्दैछु– म विशेष हुने भयो आजको साँझ।

‘तपाईंको पहाड घर चाहिँ कता हो नि?’ सोध्छु।

‘पर्वत,’ तुलसीरामको जवाफ।

सम्भवतः नेपालमा कुनै पनि भूगोल त्यस्तो छैन जहाँका मान्छेहरू चितवनमा बसाइँ नआएका हुन्।

तुलसीरामको पर्वत, रमेश सरको झापा, धन सरको खोटाङ, यदुनाथ र माधवजीको लमजुङ, अर्जुनको भक्तपुर र मेरो नुवाकोट। यति बेला एउटै आँगनमा छौं हामी फरकफरक छ जिल्लाका नेपाली। एउटा अनौठो संयोग!

‘भोक लागिसक्यो होला सरहरूलाई। छोरीले मकै र बदाम भुटिसकेकी छे। मैले गुन्द्रुक साँधिसकेको छु। छोइला साँधिहाल्छु। अब एकै छिन धैर्य गर्नुपर्ला!’ तुलसीराम भन्छन्।

हल्का भोक त लागेकै हो। सायद त्यही संकेत गर्थ्यो मेरो मुहारले। उनी पनि अतिथि सत्कारमा कुनै कमी नहोस् भन्ने चाहन्थे होलान्। हात र मुख बराबर चलाइरहेछन् उनी।

भान्छाबाट बाहिर निस्कनै लाग्दा तुलसीरामको ढोकाको चौकोसमा बसिरहेको एक थान माउसुलीमा ठोकिन्छन् मेरा नजर। त्यही बेला सम्झन्छु– ओहो! धेरै अघि झापामा दशैंको दिन माउसुली परेको मासु खाँदा परिवारका सबै सदस्यले मृत्युवरण गर्नुपरेको थियो। कतै यो हाम्रो खानामा पर्‍यो भने…! भयभीत हुन्छु म।

शकुन शास्त्रले भन्छ– पशुपंक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्।

यथेष्ट शकुन र अपशकुन छन्, माउसुलीसँग जोडिएका। माउसुली–माउसुली जुद्धा, माउसुलीले आवाज दिँदा र माउसुली खसेर मान्छेको विभिन्न अंगमा पर्दा छुट्टाछुट्टै पीडा र खुसी हुने संकेत दिन्छ रे। एक टक हेरिरहन्छु माउसुलीलाई। निर्वाध चौकोस थामिरहेकै छ। शुभ वा अशुभ, केही संकेत गरेन मलाई भने यसले। त्यसपछि आँगनमा राखिएको कुर्सीमा बस्छु म।

थालमा खाजा लिएर तुरुन्तै आइपुग्छन् तुलसीरामका बाउछोरी। दिने मान्छेको वचन मिठो भएपछि खानेकुरा पनि त्यत्तिकै स्वादिलो हुँदोरहेछ। हाँसको छोइलासँगै टुच्च लगाइयो कोदाको सोलमारी। त्यसैले त दिनभरि गाडीमा कुद्दा थाकेको ज्यानलाई आराम दिएथ्यो।

खाजा खाँदै गर्दा तुलसीरामको आँगनमा पालैपालो पोखिन्छन् रमेश सर, धन सर र माधवजीका जीवनका संस्मरण। श्रोता भएर सुनिरहेका छौं, यदुनाथ भट्टराई, चालक अर्जुन र म।

खाजापछि आयो दालभात। टन्न पेट भरेपछि लाग्छौं ओछ्यानतिर। रातको दश बजिसकेको छ। धन सर र रमेश सर एउटा कोठामा। माधवजी र म अर्कोमा। खाटमा ढल्नेबित्तिकै निदाइहाल्छन् माधवजी। उनी निदाएनन् मात्रै। बेजोडले घुर्न पो थाले। म भने निदाउँनै सकिनँ उनको बेजोडको घुराइले। मलाई निकै कष्ट भयो बाँकी प्रहर रात बिताउन।

धत्तेरिका ! कस्तो ‘घुर्रे’ को फेला परेछु आज । घुर्ने बानी भएपछि त कम्तीमा ‘एन्टी स्नोरिङ डिभाइस’ को प्रयोग गर्नु नि! निद्रा नपरुन्जेल मेरा अनिदा आँखामा भरतपुरदेखि माडीसम्मका यात्राका तमाम दृश्यहरू घुम्न थाल्छन्।

‘गाडी कम्पाउन्डभित्र राख्नुस् राजेन्द्र सर! मैले जीप डाकिसकेको छु,’ पुस्तक लोकार्पण कार्यक्रम सकेर घर आइपुग्ने बित्तिकै उपन्यासकार यदुनाथ भट्टराईले भने।

अरू कार्यक्रमका बारेमा थाहा थिएन मलाई। आज भरतपुरमै बसेर भोलि बिहानै फर्कने होला भन्ठानेको थिएँ मैले।

‘हामी कहाँ जाँदै छौं र सर? सोधेँ।

‘माडी। आजको रात हामी त्यहीँ काट्दै छौं। भोलि त्यतैबाट सोमेश्वरगढी पुगेरमात्र फर्कने हो। अब चिया खाएर हिँडिहाल्छौं,’ उनले भने।

अतिथिका रूपमा निमन्त्रणा गरेकाले हामीलाई मनोरञ्जन गराउने उद्देश्य रहेछ उनको।

त्यो एकखाले ‘सरप्राइज’ थियो हाम्रा लागि।

हिन्दु धर्मको आधार हो– आतिथ्य सत्कार। आफूकहाँ आइपुगेका पाहुनालाई खुसी पार्नु हाम्रो परम्परा। अतिथि भनेको देवतासरि हुन्छ भन्ने हाम्रो सनातनी मान्यता छ। त्यसैले त ‘अतिथि देवो भवः’ भन्छौं। मानवीय गुणको संकेत पनि हो नेपाली संस्कृतिको यो प्रचलन।

यसअघि कयौंचोटि चितवन आए पनि सोमेश्वरगढीको नाम सुनेको थिइनँ मैले। अचम्म चाहिँ के भने चितवनकै भईकन स्वयम् उपन्यासकारकै लागि पनि नौलो रहेछ सोमेश्वरगढी। आफूलाई पनि घुम्ने भनेपछि रमाइलो लाग्ने नै भयो। यदुनाथ भट्टराईको यो उदात्त भावनाप्रति आभारी भएँ म।

पहिले नै तयार रहेछ, माडी जाने जीप।

‘डेढ घन्टा लाग्छ माडी पुग्न। साढे चार बज्ने बेला भइसक्यो। बेलैमा हिँड्न पाए हुन्थ्यो कि!’ तातो लाउन आइपुगे जीप चालक।

सुगठित शरीर, औसत नेपाली कदका। गहुँगोरो वर्ण। हिस्सी परेका देखिन्छन् उनी।

‘गुरुजीको शुभनाम?’ सोधेँ।

‘अर्जुन सुवाल।’

‘पुर्ख्यौली घर कहाँ हो?’

‘भक्तपुर।’

बि.सं. २०१४ सालमा चितवनमा बसाइँ आएका रहेछन् उनका बा। भक्तपुरमै छन्, यिनका शाखा सन्तान। चितवनमा जन्मेर यहीँ हुर्केको भए पनि पुर्ख्यौली थलोलाई बिर्सेका रहेनछन् उनले।

उनी भन्दै थिए, ‘आगामी बैशाख २२ गते देवाली पूजामा भक्तपुर जाँदै छु।’

श्री ५ महेन्द्र गद्दीनसीन हुनासाथ २०११ सालमा चितवन जिल्लाको मैदानी भागमा बस्ती बसाउने अवधारणा ल्याई ‘राप्ती–दून भूमि वितरण आयोग’ गठन गरे। त्यही बेलादेखि तीव्रता पाएको थियो आन्तरिक बसाइँसराइले। त्यसैताक चितवन आएका रहेछन् अर्जुनका बा। बसाइँ सरेर आएका कतिलाई औलोले सिध्यायो। कतिलाई अनिकालले निल्यो। कति जंगली जनावरका शिकार बन्न पुगे। कालबाट जोगिन पुगेका भक्तपुरे सुवालका पुस्ता हुन् अर्जुन।

चितवनमा मात्र होइन, यसरी पहाडका जनतालाई तराई झार्नुको कारण तराइको सीमा नखुम्चियोस् भनेर नै होला। तैपनि देवनारायण यादवजस्ता हाम्रा कैयौं तराइबासी दाजुभाइहरूले दक्षिणको अतिक्रमण रोक्न वीरतापूर्वक लडिरहनुपरेको छ। उनीहरूले कुटिनुपरेको छ। पिटिनुपरेको छ। यतिसम्म कि हाम्रा दाजुभाइ उनीहरूको हिरासतमा कोचिनुपरेको छ।

लाग्छ– साँच्चै दूरदर्शी थिए तत्कालीन राजा महेन्द्र। प्रश्नका झिरमा उनिएको म तत्क्षण उनका योगदान सम्झन्छु।

साढे चार बजे बसेनीबाट आगाडि बढ्छ जीप। अघिल्लो सिटमा छन् रमेश सर। पछिल्लोमा धन सर र माधवजी। बीचको सिटमा छौं उनै उपन्यासकार र म।

गुड्दै गर्दा सडकमा देखिन्छन् युगल भार बोकेका साइकल र मोटरसाइकल। सडक छेउछाउमा कोही पानीपुरी बेचिरहेका छन् त कोही सब्जी। महिलाहरू टाउकामा ढक्की अड्याएर लागिरहेका छन् आ–आफ्ना बाटो।

समथर जमिन। कालोपत्रे सडक। गाडीको न्यून चाप। क्षणभरमै छिचोल्छ, चौबीसकोठी र क्यान्सर गेट हाम्रो जीपले। अगाडि आउँछ प्रेमबस्ती, गीतानगर र पकौडीबजार। चितवनको पश्चिमतर्फ हानिएका छौं हामी। हामीभन्दा अगाडि लागिसकेको छ घाम। अघिअघि घाम, पछिपछि हामी। घामले देखाएको गोहो पछ्याइरहेका छौं।

अत्यन्तै सहज तरिकाले गाडी चलाइरहेका छन् अर्जुनले।

‘कति भयो गाडी चलाउन थालेको?’ सोधेँ।

‘दश वर्ष।’

‘पहिले के गर्नुहुन्थ्यो नि?’

‘सेनामा थिएँ। २०६३ मा सेवानिवृत्त भएको।’

बस्ती कम। जमिन धेरै। घरैपिच्छे थुपारेका छन् परालका शूली। तोरी फुलेर पहेलपुर देखिन्छन् खेतका गराहरू। कतै हरियो गहुँ। कतै हरियो मकै बाली।

दृश्यहरू फुतफुति आउँछन् र जान्छन्। दृश्यलाई लक्षित गरेर क्यामरा सोझ्याउँछु तर पिलित्तै चिप्लिन्छन् सङ्लो पानीको माछा जस्तैगरी। पछाडि फर्केर हेर्दा आँखाको नानीबाट तु?न्तै अल्पिएर जान्छन् दृश्यहरू।

धन सर र माधवजीको गफ आफ्नै पाराले चलिरहेको छ। उपन्यासकार भट्टराई पनि दृश्यहरूमा मोबाइल सोझ्याइरहेका छन्। नेपालको सुदूरभागबाट चितवन घुम्न आएका आन्तरिक पर्यटकझैं लाग्छन् उनी।

‘झापाजस्तो पो लाग्यो मलाई त!’ गीतानगरको लोभलाग्दो जमिन देखेपछि आश्चर्य भावमा बोल्छन् रमेश सर।

‘आठ–दश कठ्ठा किन्नुस् न त सर! म यतै आएर अधियामा तरकारी फलाउँछु नि!’ ठट्टाभावमा प्रस्तुत भएँ म।

‘हुन्थ्यो नि किन्न पाए त!’ उनको जवाफ।

झापामै चाहिँदो जमिन छ क्यारे। त्यसमाथि काठमाडौं घर र जग्गा जोडिसकेका छन्, रमेश सरले। फेरि किन चाहियो र चितवनमा। रमाइलो गर्ने एउटा मेलो मात्र पो!

जीपको रफ्तारले पटिहानी, वीरेन्द्रनगर टाउन र कसराचोकलाई राम्ररी पढ्न पाइनँ मैले। अर्जुनलाई गाडीको गति कम गर्न भनूँ कि झैं लागेको थियो। भनिनँ किनकि घाम नडुब्दै माडी पुग्ने लक्ष्य छ हाम्रो।

देब्रेतिर मोडिएको गाडी राप्ती पुलमा पुगेर रोकिन्छ। पुलको बीच भागमा पुगेर तलतिर नजर फ्याँक्छु म। काँसघारीमा एकजोडी मृग मायाप्रीति गाँसिरहेको देख्छु। माछाहरू निर्वाध खेलिरहेका छन् राप्तीको नीरदहमा। माछासँगै पानीमा टिल्पिलाएको देख्छु आफ्नै प्रतिविम्ब। ठिक त्यही बेला घाम पनि डुबुल्की मार्न आइपुग्छ राप्तीमा। हरेक गोधूलिअघि क्षितिजमा नडुब्दै राप्तीमा डुबेर नित्यकर्म पूरा गर्दोरहेछ वृद्ध घामले।

मान्छेहरू अनेकखाले जलविहार गर्छन् राप्तीमा। असीम मनोरञ्जन दिन्छ यसले। यसैले निर्वाह गराएको छ कति मान्छेको जीवन। फेरि यसैले निर्मम भएर रुवाउँछ मान्छेलाई। बेलाबखत उन्मत्त भएर उर्लन्छ राप्ती, डुबाउँछ बस्तीलाई र खोसिदिन्छ मान्छेका सम्पूर्ण खुसी।

आफ्नै आँखाले देखेको थिएँ मैले २०५० सालमा राप्तीले मच्चाएको बितन्डा। सौराहा बजार पूरै डुबेको थियो त्यो बेला। सम्झँदा पनि नमज्जा लाग्छ मलाई।

पुलबाटै देखिन्छ वसन्त फक्रेकोे बडेमानको सिमलको बोट। सिमलको रङ र वासनाले हाँगाभरिभरि झुम्मिएका छन् चराहरू। नुवाकोटको नौवटा कोटमध्ये एउटा कोटको नाम थियो– सिमलकोट। दरबार त देखिएन। त्यसको खण्डहर चाहिँ देखेथेँ बाल्यकालमा। खण्डहरको छेवैमा थियो एउटा बुढो सिमलको बोट। सिमलको बोट भएकोले सिमलकोट भनिएको रे।

सिमल फूलेपछि रमाउँथ्यौं हामी। चैते हुरीले झारेका सिमलका फूल टिपेर खेल्थ्यौं। सिमलको कपास जस्ता भुवा उड्दा रमाइरमाइ समाउन खोज्थ्यौं। गोठालो जाँदा डोब्ल्याङको फाँटसम्म उडेर आएका सिमलका भुवा समाउन खोज्दा दाजु राजकुमार डंगोल र म खेतको आलीबाट खुर्मुरिएर एउटै डल्लो परेको कहिल्यै बिर्सन्नँ। भोकको झोकमा भुवाभित्रको कालो गेडा पनि चपाइयो गाठेँ! फुपूले सिमलको फूलको अचार बनाएर खुवाएको अझै याद छ मलाई।

धोत्रो भइसकेको सिमलको बोटलाई गर्लम्मै ढलायो एउटा चैते हुरीले। त्यसदेखि सिमलको फूलसित खेलेको छैन मैले । औषधिजन्य वनस्पति पनि हो सिमल । थुप्रै खाले रोग प्रतिरोधी क्षमता छ सिमलको फूल, पात र बोक्रामा किन्तु गुणकारी सिमललाई बेवास्ता गरिरहेका छौं हामी।

पुल पार गर्नेबित्तिकै चितवन राष्ट्रिय निकुञ्जमा पाइला टेक्छौं हामी। सन् १९७३ मा स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज। चितवन, नवलपरासी, पर्सा र मकवानपुरको ९३,२०० हेक्टर क्षेत्रफलमा फैलिएको।

यति बेला हामी चितवनको कसरामा छौं। सन् १९९९ मा पहिलो पटक अमेरिकी नगरिक भर्न किङस्फोर्ड र उनकी पत्नीसँग चितवन आएको थिएँ। उनीहरूले कसराको संकटापन्न घडियाल गोही प्रजनन् केन्द्र हेर्ने इच्छा जाहेर गरेपछि मलाई पनि के चाहियो। मलाई कसरा आउने मौका जुरेथ्यो।

पुल थिएन राप्तीमा। रसियन जीपले तारथ्यो हामीलाई। मानसमा आइरह्यो उति बेला गोही प्रजनन् केन्द्रमा बिताएका क्षणहरू। घडियाल र मगरमच्छ दुवैखाले गोहीका बच्चाहरू थिए। थरीथरीका आकार र आकृतिका। कोही पानीभित्रै। कोही घाम ताप्न बाहिर निस्केका। सुतिरहेका गोही देख्दा ढलेको काठजस्तै लाग्ने। देख्दैमा डर लाग्दा। धित मर्ने गरी हेरेर फर्केका थियौं हामी।

बाटैमा बसेका छन् सैनिक अधिकारीहरू। घाम अस्ताउन लागिसकेकोले होला शून्य छ पाहुना घर। विक्रमबाबा मन्दिर जाने बाटोको संकेत पाटी झुन्ड्याइएको छ एउटा रुखमा। अर्को संकेतले भन्छ– फोटो खिच्न मनाही छ। फेरि अर्काेले भन्छ– तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ।

जंगलमा पनि सिसी क्यामरा! अचम्मित हुन्छु म।

‘जंगल नकाटेसम्म हामी सिसी क्यामराकै निगरानीमा रहनेछौं,’ अर्जुन थप्छन्।

सिसी क्यामरा जडान गरिनुका कारणहरू त छन् नै। अचम्म के भने यसले सर्वसाधारणहरू हिँडेको देख्छ तर वन्यजन्तु तस्करी चाहिँ यसको लेन्समा खासै पर्दैन।

अर्जुनले गाडी दर्ता गराएपछि हुइँकिन्छौं हामी।

सडकका दायाँबायाँका सुरिला सतिसाल, सिमल, साज, भेलर र झाँगिदा वटवृक्षले सडककै रखवारी गरिरहेझैं लाग्छ। कतिपय रूख सर्प बेरिएझैं भोर्लाका लहराले बेरिएका छन्। रूखलाई टनटनी बाँधेर रूखसँगै अकासिएका छन् ती। अरूलाई बाँधेर पनि आफ्नो अस्तित्व कायम राखेका छन् यिनले। भोर्लाका लहरा देख्दा लाग्छ रूखहरू नहुने हो भने यिनको हालत के हुँदो हो!

थरीथरीका हुँदारहेछन् वनस्पति पनि। कुनै वनस्पति यति मिचाहा हुन्छन् कि आफ्नो अस्तित्व राख्दा अरूको अस्तित्व नै मासिदिन्छन्, जस्तो लहरे वनमारा। यसले त वनस्पतिको मात्र होइन, वन्यजन्तुको पनि उठिवास लगाइदिन्छ। मिचाहाहरू मान्छेमा मात्र होलान् भन्ठान्थेँ, वनस्पतिमा पनि त्यत्तिकै हुँदारहेछन्।

जीप एकनासले कुदिरहेको छ। आआफ्ना गन्तव्यतर्फ फर्कंदै गरेका स्थानीयहरू देखिन्छन् सडकका छेउछाउ।

ठाउँठाउँमा धमिराका गोला देख्दा बालवयतिर फर्कन्छु म। कुखुराले खुब मन पराउँछ धमिरा। सान्दाजु र म वन गएका बेला धमिराको गोलो देखेपछि कोदालोले खनेर ल्याउँथ्यौं र खुर्पाको टुप्पोले कोट्याएर कुखुरालाई दिन्थ्यौं। ‘बा’ भन्न पाउँथेनन् बिचरा धमिराले। स्वासै नफेरि क्वापक्वाप पार्थ्यो कुखुराले।

चालक अर्जुनलाई एकैछिन गाडी रोक्न लगाएर फोटो नखिचिरहन सकिनँ मैले।

‘यसलाई देवल भनिन्छ,’ धन सर बोले।

नयाँ कुरा थाहा पाएँ आज। धमिराको गोलोलाई ‘देवल’ पनि भनिँदोरहेछ। यदाकदा देवगृह जस्तै हुन्छ यसको आकृति। त्यसैले पो हो कि यसो भनिएको!

जमिनको माटो उठाएर घर बनाएका छन् धमिराले। सतिसालको ठुटो पनि कुहाउँछ माटोले। र, त्यही कुहिएको काठलाई भित्रभित्रै चपाई बस्छन् यिनीहरू। धमिराले चपाउँदा चपाउँदै कालान्तरमा भकुण्डो जस्तै गोलो बन्न पुग्छन् रूखका ठुटा।

ख्याल सुन्दर लाग्दैन बाहिरबाट हेर्दा तर भित्र चाहिँ खोक्रो! जस्तै– बालुवाटार, सिंहदरबार र संसद भवन…। फरक यतिमात्र हो वर्गका हिसाबले दुई खुट्टे धमिराहरू स्तनधारी प्राणीमा पर्छन् भने धमिरा किरा प्रजातिमा पर्छ। दुईखुट्टे धमिराहरू चुस्छन्, यिनीहरू चपाउँछन्। जन्तु जगतकै धमिराले बनाएको देवल र दुई खुट्टे धमिराहरूले बनाएको वर्तमान नेपाल उस्तै लाग्छ मलाई!

रिउखोलाको पुल आइपुग्दा भुकभुके उज्यालो अझै बाँकी छ।

‘बोटे जाति बस्छन् यहाँ,’ अवगत गराए अर्जुनले।

ससाना चिटिक्क परेका घर देखिन्छन्, खरले छाएका। आँगन छेउमा परालका शूली बनाइएका छन्। अन्नबालीका हरियालीले ढाकिएका छन् फाँटहरू।

चिलौरीचोक काटेर सिदुवाचोक आयो। माडीको मुटु वसन्तपुर पनि आयो। मिलनचोक काटेपछि ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ भन्ने गीतझैं धूलो उडाउँदै आइपुगेथ्यौं लक्ष्मीनिवास।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित