काठमाडौं । बिलबिजक र काजगात नभएका १० वटा कवाडी बोकेका ट्रक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्रले मंगलबार साँझ ललितपुरको सानेपाबाट ती ट्रक नियन्त्रणमा लिएको हो । आवश्यक कागजपत्रबिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
आवश्यक कागजपत्र बिना ठूलो मात्रामा कवाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले ती ट्रक नियन्त्रणमा लिएको थापाले जानकारी दिएका छन् ।
सशस्त्रले नियन्त्रणमा लिएका ट्रकमा प्र २–०३–००१ख ४७३८ , लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९, ना ६ ख ५६१ र बा. प्र. ०३–००१ ख २०५० नम्बरका छन् ।
ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग लगिएको जनाइएको छ । आवश्यक बिलबिजक नै नभएका ४ वटा ट्रक मंगलबार बिहान नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । ती ट्रकका पनि कागजात नै नभएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिइएका ट्रकहरु राजमार्गमा कवाडी कर जबर्जस्ती असुली गर्ने रोशन चौधरी र उनको समूहका भएको आशंका गरिएको छ । चौधरीले राजमार्गमा जबर्जस्ती निकासी कर असुली गर्दैआएका छन् ।



































