दशैं गीतका पर्याय विष्णु खत्री

सुनको जलप

यो दशैँमा घर आउने मन थियो

पापी साहुले दिन्न तलब…’

विसं २०६४ को दशैँ ताका लोकगायक विष्णु खत्रीले ल्याएको गीत हो, यो। जुन गीत उबेला खुबै चर्चित बन्यो। धेरैले रुचाए पनि। खत्री त्यत्तिमा मात्र रोकिएनन्। त्यसयता सालिन्दा दशैँको छेकोमा उस्तै विषय र भावभूमिमा उनका गीत आउन थाले। कतिले त ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दशैँ आउँछ’ सम्म भन्न भ्याए।

खत्रीको सोह्रौँ दशैँगीत ‘दशैँ, तिहार गाउँमा’ आज सार्वजनिक भएको छ। उहिलेको दशैँमा साहुले तलब नदिएपछि घर आउन नपाएका परदेशी अहिलेको दशैँ, तिहार भने गाउँमै मनाउने कुरा गर्दैछन्। सोह्र वर्षको अन्तरालमा पनि खत्रीको गीतको अन्य करिब उस्तै छ। खाली ऊबेला तलब नपाएर दशैँमा घरमा आउन नपाएको परदेशी अहिले घर फिर्दैछ, स्वजनसँग दशैँ मनाउन।

‘हो पियारी आउँदैछु म गाउँमा

दशैँ तिहार गाउँमा झैँ रमाइलो, हुन्न कुनै ठाउँमा…’

नेपालीजनले भोगिरहेको परदेश आउजाउको अन्तहीन श्रृङ्खला खत्रीका गीतमा पनि अभिव्यक्त हुने क्रम जारी नै छ। बरु परदेशिने प्रवृत्ति अरु बढ्दो छ। खत्रीले परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दशैँगीत सिर्जना गर्दै आएका छन्। खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन्।

उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘दशैँ, तिहार गाउँमा’ त्यसकै सिलसिला हो। मार्मिक सिर्जना र ग्रामिण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन्। गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ। गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन्।

‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भने, ‘दशैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दशैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ।’ दुई दशकदेखि लोकसंगीतमा सक्रिय उहाँका दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन्। अघिपछि पनि उनी समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहन्छन्।

गत वर्षको दशैँमा खत्रीले ‘उडी जाने जहाज’ल्याएका थिए। त्यसअघि उनका ‘दशैँ, तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दशैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए। पहिलो दशैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बीमाकुमारी दुराले साथ दिएका थिए। अहिलेको गीतमा गायक खत्री र गायिका कमला पोखरेलको स्वर छ।

प्रायः सबै गीतमा शब्द र संगीत पनि गायक खत्रीकै रहेको छ। ‘दशैँलक्षित मेरो पहिलो गीत सुनको जलपले खुबै चर्चा बटुल्यो, धेरैले रुचाउनुभयो’, खत्रीले भने, ‘त्यसयताका प्रायः सबै गीत चर्चामा रहे, आजै युट्युबमा सार्वजनिक भएको गीतलाई लिएर पनि स्रोता/दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, उत्साहित नै छु।’

सोह्र वर्षदेखि लगातार दशैँलक्षित गीत सार्वजनिक गरेका खत्री दशैँगीतका पर्यायका रुपमा चिनिन थालेका छन्। परदेसिएका नेपालीको भोगाइ र उनीहरूको मनोदशा उनका सिर्जनामा अभिव्यक्त हुने गरेको छ। खत्रीले तीन वर्षअघि ल्याएको दशैँगीत ‘रिनै रिनको’मा पनि त्यसको सजीव प्रस्तुति पाइन्छ।

‘आकाशबाट बाकसमा नआए

ढोका खोल भन्नेछु म आए…’ (पुरुष)

घरै धराप छ पहिरो खसेर

बाली खायो सलह पसेर…’ (महिला)

गीतमा बेठेगान परदेशी जिन्दगीको कुरा छ। प्रियजन पर्खेर बसेका परिवारको दुःख र पीडा मुखरित भएको छ। घरमा दशैँ कसरी मान्ने चिन्ता छ। परदेशीले खर्च पठाउनसक्ने स्थिति छैन। परदेशी हुनुको विवशता गीतमा छचल्किएको छ।

‘के दशैँ मान्छ्यौ र रिनै रिनको’

मेरो केही घर छैन आउने दिनको…’ (पुरुष)

के दशैँ मानौँ र रिनै रिनको

शून्य छ गामवेशी तिमी बिनाको…’ (महिला)

खत्रीका दशैँ गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन्। बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका उनी सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित