माइस्थान प्राविमा प्रअ केशव भण्डारीको रजगज : विव्यस अध्यक्षलाई ‘नाटकीय ढंगबाट बर्खास्त’, एक महिनामा तीन समिति

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ माइस्थान प्राथमिक विद्यालयका प्राध्यानध्यापक केशव भण्डारीले स्थानीयसँग मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेका छन् । प्रअ भण्डारीले २१ दिनअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका तिलबहादुर खत्रीलाई स्थानीयसँग मिलेर बर्खास्त गरेका हुन् । ‘कि म रहन्न, कि अध्यक्षलाई हटाउन पर्यो’ भन्ने कुरामा प्रअले ढिपी राखेपछि विद्यालय व्यवस्थापन समितिमा फेरबदल आएको हो ।

असार १६ गते विद्यालयको आयव्यय सार्वजनिकका लागि बोलाइएको अभिभावक भेलाले केयरसिंह घर्तीलाई अध्यक्षमा चयन गरेको छ । घर्ती त्यसअघि विद्यालय व्यवस्थापन समिति सदस्यमात्रै थिए । बर्खास्तिमा परेका अध्यक्ष तिलबहादुर खत्रीले आय-व्यय सार्वजनिकका लागि बोलाइएको बैठकले आफूलाई एक्कासी बर्खास्त गरेको गुनासो गरे ।

‘विद्यालयको आय-व्यय सार्वजनिक गरेपछि प्रअसहितका केही व्यक्तिहरुले अध्यक्षलाई हटाउनुपर्यो भन्दै कुरा राखेपछि म काुननी उपचारमा जान्छु भन्दै उठेर हिँडेको हुँ,’ उनले भने, ‘जेठ २४ गते सर्वसम्मत मलाई अध्यक्षमा चयन गरेपछि अहिले हटाउनुपर्ने के बाध्यता उनीहरुलाई आई लाग्यो ?’

उनका अनुसार आफूलाई बखास्त गरेको विषय बडिगाड गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराएको बताए । जेठ २४ गते अध्यक्षमा बाहली भएपछि उनको अध्यक्षतामा पहिलो बैठक बसेको थियो । उनकै अध्यक्षतामा बसेको बैठकले खाली रहेको करार दरबन्दीका लागि शिक्षक राख्ने प्रक्रिया अगाडी बढाइएको थियो ।

‘विज्ञ राख्ने विषयमा प्रअले भीमगिठे माध्यमिक विद्यालयका तिलबहादुर थापा र पुर्णपति कँडेललाई राख्ने भन्नुभएको थियो, त्यस विषयमा अरू राखौं भन्दा सामान्य भनाभन भएको हो,’ खत्रीले भने, ‘पछि भानु माविका केशव खरेल र टिका पाइजा राख्ने समितिमा सहमति भएको थियो ।’

पालिकाले गराएको शिक्षक छनोट परीक्षामा परीक्षार्थीले परीक्षा उत्तिर्ण गर्न नसकेपछि विद्यालयले फेरि शिक्षक दरबन्दी आवश्यकताकाे सूचना सार्वजनिक गरिसकेको छ । ‘शिक्षक छनोटमा विज्ञ राख्ने विषयमा सामान्य भनाभनपछि उहाँले (प्रअ) इगोको रुपमा लिनुभयो,’ खत्रीले भने, ‘केही स्थानीयसँग मिलेर मलाई बर्खास्त गर्नुभयो ।’

बैशाख २१ गते सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेपछि तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर खत्री हटेका थिए । अध्यादेशअनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न अभिभावक हुनुपर्ने प्रावधान राखिएपछि तिलबहादुर खत्री अध्यक्षमा चयन भएका थिए । एक सहभागी स्थानीयले केही हप्ता अगाडी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको व्यक्तिलाई बर्खास्त गर्दा राम्रो सन्देश नजाने कुरा राखेका थिए । तर आफ्नो कुरालाई वेवास्ता गर्दै नयाँ समिति चयन गरिएको उनले बताए । ती स्थानीयले भने, ‘एक हप्ता अगाडी राखेको मान्छेलाई हटाउँदा कानुनी अप्ठ्यारो पर्छ भन्ने कुरा उठेको थियो उनले भने, प्रअले केही हुँदैन भनेपछि नयाँ समिति घोषणा गरिएको हो ।’

अध्यक्ष हटाउने विषयमा बडिगाड शिक्षा शाखा नै बेखबर
जेठ २४ गते चयन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर खत्रीलाई हटाउने विषय नै कानुन विपरित भएको पाइएको छ । बडिगाड गाउँपालिकाले जारी गरेको शिक्षा ऐनको १९ को (२) उपदफा (१) बमोजिम छानिएका वा मनोनित अध्यक्ष वा सदस्यको पदावधि तीन वर्षको हुने व्यवस्था छ । जसमा त्यस्ता अध्यक्ष वा सदस्यले आफ्नो पदअनुसारकोआचरण नगरको देखिएमा गाउँशिक्षा समितिले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनु अघि वा समिति विघटन गर्नुअघि आफ्नो सफाइ पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन । यसरी हेर्दा प्रअसहितका स्थानीयहरुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अवधि नपुग्दै बर्खास्त गर्ने र नयाँ नियुक्त गर्ने अधिकार छैन ।

साथै विद्यालय व्यवस्थापन समिति गठन गर्दा ऐनको ३ अनुसार सम्बन्धित विद्यालय निरीक्षक वा शिक्षा अधिकृतलाई व्यवस्थापन समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर यसलाई पनि कुल्चदै प्रअसहितका केही स्थानीयले काुननको उल्लंघन गरेका छन् । यस विषयमा बडिगाड गाउँपालिका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले यस विषयमा समन्वय नभएको बताएका छन् । जेठ २४ गते गठन गरिएको अध्यक्षलाई असार १६ गते हटाउनुपर्ने कारण के रहेछ ? भन्ने प्रश्नमा उनले भने-‘यस विषयमा मलाई थाहा छैन, अहिले असारमसान्तले काममै व्यस्त छौं, २५ गतेपछि के भएको रहेछ हेरौँला ।’

प्रअको गैरजिम्मेवारी जवाफ
माइस्थान प्राविका प्रध्यानाध्यापक केशव भण्डारीले यस विषयमा गैरजिम्मेवारी जवाफ दिएका छन् । २१ दिनअघि चयन गरिएको अध्यक्षलाई के कारणले हटाउनुभयो भन्ने प्रश्नमा साथीहरुले यता, उता गरेको भन्दै आफू जिम्मेवारीबाट पन्छिएका छन् । उनले भने,-‘सबै कुरा यहाँ आएर गरौंला मान्छेहरू जम्मा गर्छु तपाईं आउनुस् र भेटेरै कुरा गरौंला ।’ असार १६ गते विद्यालयको आयव्यय सार्वजनिक गर्ने भनेरै अभिभावक बोलाएको र विद्यालय व्यवस्थापन समिति गठन गर्ने त्यसदिन कार्यसूची नै नभएको उनले स्वीकार गरे ।

‘त्यो दिन विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषय थिएन, साथीहरुले यता उता गर्नुभएको हो’ उनले भने । कुराकानी कै क्रममा उनले फोन काटेर स्वीच अफ गरेपछि उनी सम्पर्कमा आउन चाहेनन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्यलाई अध्यक्षमा चयन
जेठ २४ गते चयन भएका विद्यालय व्यवस्थापन समितिका सदस्य केयरसिंह घर्तीलाई अध्यक्षमा चयन गरिएको छ । असार १६ गते बसेको भेलाले अध्यक्ष तिलबहादुर खत्रीलाई बर्खास्त गरी घर्तीलाई चयन गरिएको हो । स्रोतका अनुसार विद्यालयका प्रअ भण्डारी, स्थानीय लालबहादुर जोगी, शिव गौतम (माया) लगायतले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खत्रीलाई हटाएर नयाँ चयन गर्नुपर्ने आवाज उठाएका थिए ।

नयाँ शिक्षक भर्ना गर्न अध्यक्षलाई हटाएको आरोप
खाली दरबन्दीमा आफूअनुकुल शिक्षक राख्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरिएको  प्रअमाथि आरोप लागेको छ । स्रोतका अनुसार आफूअनुकुल मान्छेलाई भर्ना गर्न उनकै डिजाइनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई बर्खास्त गरिएको हो । यस विषयमा आफूलाई मतलब नहुने उनले बताए । आफू अनुकुल शिक्षक राख्न तपाईंकै मिलिमतो रहेको कुरा आएको छ ? भन्ने प्रश्नमा उनले आफ्नो कोही मान्छे नभएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित