काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा बैंकहरूको निक्षेप करिब १० खर्ब रुपैयाँले वृद्धि हुँदा कर्जा भने करिब ४ खर्ब रुपैयाँले मात्रै बढेको हो । कर्जाको मागमा सुधार नहुने र निक्षेप लगातार बढ्दा बैंकहरूमा अधिक तरलताको चाप बढ्दै गएको छ । जसले गर्दा निक्षेपको लागत घटाउन बैंकहरूले लगातार ब्याजदर घटाउँदै लगेका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो महिना भदौका लागि लागि प्रकाशित गरिएको ब्याजदरमा अधिकांश बैंकले यथावत राखेपनि ५ बैंकले भने निक्षेपको ब्याजदर घटाएका हुन् । ब्याजदर घटाउनेमा तुलनात्मक रूपमा न्यून ब्याजदर प्रस्ताव गर्ने बैंकहरू रहेका छन् ।
नेपाल राष्ट्र बैंकले बचतको ब्याजदरमा एउटा न्यूनतम क्याप लगाएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ । मौद्रिक नीतिमा निक्षेप संकलन दर २.७५ प्रतिशत तोकिएको छ । बचतको न्यूनतम ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएका बैंकहरूले स्थायी निक्षेप सुविधा नपाउने व्यवस्था छ ।
सोही कारण बैंकहरूले बचतको ब्याजदर घटाउन सकेका छैनन् । जसले गर्दा लागत कम गर्न मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै घटाएर ४ प्रतिशतभन्दा पनि तल झारेका हुन् ।
भदौ लागि २० मध्ये ४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा पनि तल झारेका छन् । साउनको भदौ भदौमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर सबैभन्दा धेरै घटाउनेमा सिद्धार्थ बैंक रहेको छ । बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.०५ प्रतिशतबाट ०.२९ प्रतिशत बिन्दुले घटेर ३.७६ प्रतिशतमा घटाएको छ ।
कुमारी बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.०९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत प्रस्ताव गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ०.०५ प्रतिशत बिख्न्दुले घटाएर ३.८ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा सिटिजन्स बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ०.१० प्रतिशत बिन्दुले घटाउर ३.८५ प्रतिशतमा झारेको छ ।
४ प्रतिशतभन्दा कम ब्याजदर हुने ४ वटै बैंकले ब्याजदर घटाएका हुन् । यस्तै, नेपाल बैंकले पनि ०.१० प्रतिशत बिन्दुले घटाएर भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.१५ प्रतिशत बिन्दुमा झारेको हो । हिमालयन, प्राइम, एनआईसी एशिया र लक्ष्मी सनराइज, राष्ट्रिय वाािण्ज्य र ग्लोबल आईएमई बैंकले भने भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर साउनकै ४ प्रतिशतलाई निरन्तरता दिएका छन् ।
एभरेष्ट बैंकले ४.०५ प्रतिशत नेपाल एसबिआई बैंकले ४.१ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत ब्याजदरलाई भदौमा पनि यथावत राखेका हुन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र एनएमबि र माछापुच्छ्रे बैंकले पनि ४.५ प्रतिशत ब्याजदरलाई नै भदौमा निरन्तरता दिएका हुन् ।
प्रभु र नबिल बैंकले पनि ४.५५ प्रतिशत ब्याजदरलाई नै भदौमा निरन्तरता दिएका छन् ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाका लागि निक्षेपमा दिने ब्याजदर प्रकाशित गर्नुपर्छ । आइतबार भदौका लागि दिने निक्षेपको ब्याजदर सार्वजनिक गर्दा साउनको तुलनामा भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.०३ प्रतिशत बिन्दुले घटाएका हुन् । साउनमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.१७ प्रतिशत रहेकोमा भदौमा ४.१४ प्रतिशतमा झरेको छ ।
बचतको न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा कम गर्न नसक्ने भएपछि लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर पनि घटाउँदै लगेका हुन् । मुद्दती निक्षेपमा २ वर्षदेखि १० वर्षका लागि बैंकहरूले ३ प्रतिशत वा सोभन्दा माथिको ब्याजदर प्रस्ताव गरे पनि छोटो अवधिको मुद्दती निक्षेपमा भने सबैजसो बैंकको ब्याजदर ३ प्रतिशत वा त्यसभन्दा तल झरिसकेको छ ।
निक्षेप लगातार बढ्ने र सोही अनुसार कर्जा बढ्न नसक्दा राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ । बैंकहरूले १२ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ तरलता राष्ट्र बैंकमा पार्क गरेका छन् ।
































