काठमाडौं । यलुङरी हिमपहिरोमा परेर बेपत्ता भएका पाँचजनाको शव नौ महिनापछि फेला परेको छ । दोलखाको यलुङरी हिमाल आरोहणमा गएको कात्तिकमा हिमपहिरो जाँदा १५ जना फसेका थिए ।
त्यसमध्ये आठजनाको सकुशल उद्धार गरिएको थियो । दुईजना भने त्यही बेला मृत भेटिएका थिए । पाँचजना बेपत्ता थिए ।
शुक्रबार उनीहरू पाँचजनाकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । भेटिएका शव दोलखाको गौरीशंकरकै पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको रहेको छ ।
अन्य तीन शवमध्ये एक क्यानडेली, एक इटालियन र एमजना जर्मन नागरिकका हुन् । चारवटा शव प्रहरीले हेलिकोप्टरमार्फत सोमबार काठमाडौं पठाएको डीएसपी लामाले जानकारी दिए ।
यलुङरी दोलखाको गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ क्षेत्रमा पर्छ ।




































