काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमईले अघिल्लो आवको भन्दा नाफा २२.६२ प्रतिशतले नाफा बढाएको हो ।
बुधबार बैंकले सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ अर्ब २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको ५ अर्ब ७ करोड ६३ लाख रूपैयाँको तुलनामा १ अर्ब १५ करोड बढी हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आव अन्त्यमा बैंकको ईपीएस १३.३२ रुपैयाँ रहेकामा १६.३४ रुपैयाँ पुगेको छ ।
आव २०८२/८३ को अन्त्यमा बैंकले नाफा गरेको ६ अर्ब २२ करोडमध्ये ३ अर्ब ५७ करोड ५४ लाख रूपैयाँ सेयरधनीहरूलाई बाँड्न मिल्ने देखिन्छ । अघिल्लो आवसम्मको विवतरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेर बाँकी रहेको रकम समेत जोड्दा बैंकको कुल सञ्चित नाफा ४ अर्ब ५८ करोड १० लाख रूपैयाँ पुगेको छ । यो रिटेन्ड अर्निङले बैंकले सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकले आशाजनक लाभांश क्षमतासहितको वित्तीय विवरण प्रकाशन गरेको हो ।



































