काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेसँगै नागरिकले नाम, जन्ममिति, विवाह दर्ता लगायत व्यक्तिगत घटनाका विवरण एकपटकका लागि सच्याउन पाउने भएका छन्।
यसअघि ऐनले व्यक्तिगत विवरण सच्याउन मिल्ने व्यवस्था गरे पनि त्यसको प्रष्ट कार्यान्वयन निर्देशिका नभएको कारण सजिलो थिएन। नयाँ नियमावलीले ऐनमा रहेको “एकपटक संशोधन”को व्यवस्था कसरी लागू गर्ने भनेर स्पष्ट व्याख्या गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार अब जसको नाम, ठेगाना, जन्म दर्ता, विवाह, मृत्यु वा सम्बन्ध विच्छेद जस्ता विवरण बिग्रिएको छ, उनीहरूले एकपटक मात्र विवरण सच्याउन पाउनेछन्।
नियमावली संशोधन भइसकेकोले अब यो राजपत्रमा प्रकाशित भएपछि लागू हुने अधिकारीले बताए। व्यक्तिगत घटनाका विवरण दर्ता वा संशोधनको काम वडा कार्यालयमार्फत हुनेछ।

































