काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्। केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उनले बताएका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।
घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए। उक्त छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास उनले दिलाए। स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिन सम्पूर्ण सुरक्षा निकायलाई तत्काल घटनास्थलमा खटाइएको उनको भनाइ छ।
स्थानीय स्तरमा प्रत्यक्ष अनुगमन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थल पुगेको उनले जानकारी दिए। यसैगरी, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको उनले स्पष्ट पारे। स्थितिलाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको उनले बताए।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न उनले सबैमा अपिल गरे। प्रधानमन्त्री शाहले भने, ‘सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गरौं।’ नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व रहेको उनले स्मरण गराए।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै उनले कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताए। कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने उनले प्रस्ट पारे।
शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सयौं वर्ष पुरानो सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी उनले दिए।
उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र सञ्चारमाध्यमलाई धैर्य र संयमता अपनाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरे।








































