काठमाडौं । सरकार र चिकित्सक संघबीच पाँचबुदे सहमति भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिटपछि आन्दोलनरत चिकित्सक र सरकारबीच बुधबार पाँचबुदे सहमति भएको हो ।
सहमतिअनुसार नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारमा संलग्न व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनअनुसार कारबाही बढाउने उल्लेख छ।
यस्तै, स्वास्थ्यकर्मीमाथिको हातपात तथा स्वास्थ्य संस्थामा हुने तोडफोडलाई फौजदारी अभियोग अन्तर्गत कडा कारबाहीका लागि मुलुकी अपराध संहिता २०७४ को दफा २३२ र २३३ संशोधन प्रक्रिया तत्काल अ३ बढाउने सहमति भएको छ । यस्तै, उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधनका लागि सात दिनभित्र संयुक्त कार्यदल गठन गर्ने उल्लेख छ ।
यस्तै, यसअघि मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएका सम्झौता कार्यान्वयनका लागि तीन दिनभित्र स्वास्थ्य मन्त्रालय तथा चिकित्सक संघको संयुक्त कार्यदल गठन गर्ने उल्लेख छ । सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलन अन्त्य गर्दै सेवा सुचारु गर्ने उल्लेख गरिएको छ ।



































