काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको खुला प्रतियोगितात्मक भर्नाका लागि माग संख्या थप गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखा नक्सालले एक सूचना जारी गर्दै यसअघि २६ मंसिर २०८२ मा प्रकाशित विज्ञापनमा माग गरिएको पद संख्यामा थप गरिएको जनाएको हो ।
सूचनाअनुसार यसअघि माग गरिएको पद संख्या र थप गरिएको पद संख्या समायोजनपछि प्रहरी निरीक्षक पदका लागि कुल २९ पद कायम भएको छ । थप गरिएको पद संख्याअनुसार अमर अशक्त र प्रहरी परिवारतर्फ ४, खुलातर्फ २, महिलातर्फ १, आदिवासीरजनजातितर्फ १ गरी थप ८ पद समावेश गरिएको छ ।
यसअघि प्रकाशित विज्ञापनमा खुला तथा समावेशी समूहअन्तर्गत विभिन्न शीर्षकमा पद माग गरिएको थियो । थप गरिएको संख्यासहित अब कुल माग संख्या २९ पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालयसमेत विपक्षी रहेको रिट नम्बर ०७८–wo–०६६२ लगायतका उत्प्रेषण निवेदनमा २४ माघ २०७९ मा जारी परमादेशको आदेश कार्यान्वयनका क्रममा समावेशी समूहसम्बन्धी आवश्यक कानुनी व्यवस्था मिलाएपछि कायम हुने पदमध्ये समावेशी समूहको अनुपातअनुसार पदपूर्ति गरिनेछ ।
सूचनामा विगत आर्थिक वर्ष २०७९/८० मा समावेश नगरिएका कारण वास्तविक रूपमा गुम्न गएका पदहरूको क्षतिपूर्तिसम्बन्धी व्यवस्थासमेत कानुनबमोजिम गरिने उल्लेख छ ।































