काठमाडौं । जोर्डनमा भएको इरानी आक्रमणमा परी दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कारबाही थालिएको छ ।
अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । सेनाका अनुसार यो कारबाही जोर्डनमा दुई अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताए । अमेरिकी सेनाले शनिबार युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ । शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा ती सैनिक मारिएका थिए भने एकजना अझै बेपत्ता छन् ।
थप चारजना सैनिक घाइते भई उपचाररत छन् । यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी सेनाले जनाएको छ ।
इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । उनले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप पनि लगाए ।
कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ । यसअघि पनि विद्युत् तथा समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाइएको थियो ।

































