बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ३, झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयले शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । ‘१०१ प्राविधिक शिक्षालयको परिकल्पनामा सङ्कल्पित’ मूल नाराका साथ सञ्चालन हुन लागेको यस महायज्ञ आगामी मङ्सिर ०६ गतेदेखि १३ गतेसम्म हुनेछ। उक्त ज्ञान महायज्ञमा ख्यातिप्राप्त वाचन प्रवीण दीनबन्धु पोखरेलको प्रमुख कथा वाचन हुनेछ भने चन्द्र प्रसाद वसेल संकल्पकर्ता रहेका छन् ।
विद्यालयमा स्मार्ट कक्षाकोठा व्यवस्थापन, छात्रावास तथा आवास भवन निर्माण, स्कुल बसको व्यवस्थापन र प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको महायज्ञ मुल समारोह समितिका महासचिव नवराज आचार्यले जानकारी दिए । यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने, विद्यार्थीशिक्षक तथा अभिभावकमा असल संस्कारको विकास गर्ने र धार्मिक पर्यटनको प्रवर्धन गर्ने यसका अन्य लक्ष्य रहेका छन्।
महायज्ञको अवधिमा लाखबत्ती प्रज्वलन, ८८ पूजा, तुलादान, धान्याञ्चल, विवाह, व्रतबन्ध, ४००० कलश पूजन, ग्रहशान्ति तथा १०८ शालिग्राम परिक्रमा र पूजनलगायतका कार्यक्रमहरू सञ्चालन हुनेछन्।



































