काठमाडौं । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साइबर ब्युरोले चन्द्रागिरि नगरपालिका–११ सतुंगलका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो। ब्युरोका सूचना अधिकारी दिलीपकुमार गिरीका अनुसार उनलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
ओलीले आफ्नो फेसबुक पोस्टमा अपशब्द र नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गरिएको भन्दै श्रेष्ठसहित केही व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी छन्। यस विषयमा उनले केही दिनअघि संसद्मा समेत ध्यानाकर्षण गराएकी थिइन्।
त्यसक्रममा गृहमन्त्री सुधन गुरुङले दोषीलाई कानुनी दायरामा ल्याइने बताएका थिए।


































