बागलुङ । काठेखोलामा पछिल्लो समय बेतिथि मौलाउँदै आएको छ । राजु थापाको नेतृत्वमा रहेको गाउँपालिकाले शुरुको दुई वर्ष वित्तिय तथा भौतिक प्रगतिमा राम्रो उपलब्धि हाँसिल गरेपनि पछिल्लो समय भाडाको घरबाट विद्यालयको घरमा लाखौँ खर्चेर सर्नुबाहेक अन्य प्रगतिको सूची छैन ।
पछिल्लो छ महिना यता आफ्नो डोजर थन्काएर कमिसनको लोभमा ठेकेदारको डोजर प्रयोग गर्दै आएको खुलेको छ । कार्यालय परिसरमा डोजर थन्काएर पालिकाले सडक मर्मत, पहिरो पन्छाउन भाडामा ठेकेदारका डोजर प्रयोग गर्दै आएको हो । गाउँपालिकाले वडालाई नै मर्मत सम्भारका लागि रकम पठाएर ठेकेदार मोटाउने काम गरेको हो । काठेखोला गाउँपालिकाले लाखौँ रकम खर्च गरेर खरिद गरेको डोजर प्रयोगविहीन अवस्थामा थन्किएको छ भने विकास निर्माणका काममा निजी डोजरलाई प्राथमिकता दिइएको पाइएको छ ।
गाउँपालिकाले सडक मर्मत, स्तरोन्नति तथा पूर्वाधार निर्माणका लागि खरिद गरेको डोजर लामो समयदेखि प्रयोगमा नआएर कार्यालय परिसरमै थन्किएको अवस्थामा रहेको छ । तर सोही समयमा विभिन्न योजनामा निजी तथा भाडाका डोजर प्रयोग भइरहेको भन्दै स्थानीयले प्रश्न उठाउन थालेका छन् ।
आफ्नै हेभी इक्विपमेन्ट हुँदा हुँदै पनि सडक निर्माण र मर्मतमा निजी डोजर प्रयोग गरिनु सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा आर्थिक अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । गाउँपालिकाले खरिद गरेको डोजर सञ्चालनका लागि चालक, मर्मत सम्भार वा व्यवस्थापनको उचित योजना नबनाउँदा सरकारी सम्पत्ति उपयोगविहीन बनेको छ । विकास निर्माणमा निजी डोजर प्रयोग गर्दा अतिरिक्त आर्थिक भार थपिएको र त्यसबाट सीमित व्यक्ति लाभान्वित भएको पाइएको छ ।
गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिबिच मतभेदको उदाहरण बनेको छ पालिकाको डोजर । पालिकाको विपद्, आकस्मिक पहिरो व्यवस्थापनलगायत सडक मर्मतमा २०७७ सालदेखि नियमित प्रयोगमा आएको डोजर ७ महिनादेखि पालिकामा थन्किएको हो । आर्थिक वर्ष २०७६।७७ सालमा २९ लाखमा खरिद गरेको व्याकुलोडर (डोजर) ७ महिनादेखि थन्काएर कमिसनको लोभमा ठेकेदारको डोजरमा जनप्रतिनिधिले रजाई गरेको पाइएको छ । काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले चालक अभावमा पालिकाको डोजर थन्किएको स्वीकार गरेका छन् ।
पालिकाको डोजर नचल्दा सडक मर्मतलगायतमा अन्य डोजर प्रयोग भइरहेको उनको भनाई छ । यस विषयमा गाउँपालिका अध्यक्ष राजु थापा झुट बोलेको पालिकाको वेबसाईट तथा समाचार स्रोतले प्रष्टाउँछ । अहिलेसम्म पालिकाले चालकका लागि विज्ञापन नै नखुलाएको पाइएको छ । विज्ञापन नखुलाएको पालिका अध्यक्षले चालक पाइएन भन्ने जवाफ दिनु लज्जास्पद र झुट सावित भएको छ ।
सडक मर्मत सम्भारका लागि वडामा बजेट पठाएपछि वडा अध्यक्षहरुले समेत थन्किएको डोजरमा प्रश्न उठाउन सकेका छैनन् । गाउँपालिकाले अहिलेसम्म चालकका लागि कुनै विज्ञापन नखुलाएको पालिकामा कार्यरत एक कर्मचारी बताउँछन् । पालिकाकामा हाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा मुक्ति पौडेल छन् । यसअघि बडिगाड गाउँपालिकामा रहँदा पनि विवादमा परेका पौडेल हाल काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।


































