काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।
ट्रकको ठक्कर बाट बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार कडेल गम्भीर घाइते भएका थिए। दुर्घटना लगत्तै जिल्ला अस्पताल गुलरिया उपचारका लागि पुर्याउँदा चिकित्सकले बिहान साढे ५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए।
बर्दियाका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बासगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह घाइते छन्।
उनको अवस्था मध्यम रहेको तथा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके रिफर गरिएको डिएसपी बोहराले बताए।
मृतक कँडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस ९एफओबी० गणेशपुर, बर्दियामा कार्यरत थिए। घाइते ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० वर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचार भइ रहेको छ । दुर्घटनामा एउटा भैंसी समेत मरेको छ।
जिल्लाको गुलरिया नगरपालिका– ११ लालपुरमा बिहान पैदल हिँडिरहेका सशस्त्र प्रहरी सहायक हवल्दार कडेल, शाह र भैंसीसहितलाई ट्रकले ठक्कर दिएको थियो ।
यो दुर्घटना आइतबार बिहान सवा ५ बजेतिर घटेको थियो ।
बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणपछि ती भैंसी र पाडोलाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो।
ट्रकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए।



































