काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएपछि सवारी आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आज बिहान ९ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।
अत्यधिक वर्षाका कारण बाढी–पहिरोको जोखिम बढेकाले आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड तथा पृथ्वी राजमार्गअन्तर्गत चितवन क्षेत्र पहिरो पन्छाएपछि सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
स्थानीय प्रशासनले पहिरोको उच्च जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधनको आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडक हुँदै पोखरातर्फ जाने केही सवारीसाधन भने सञ्चालनमा आएका छन् ।



































