काठमाडौं । जंगलमा मृत फेला परेका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको पोस्टमर्टम गर्ने तयारी गरिएको छ। हराएको तीन दिनपछि उनको शव जंगलमा फेला परेको थियो।
एसपी मनोहरप्रसाद भट्टका अनुसार सिंहको शव पोस्टमर्टमको तयारी गरिएको छ। यसका लागि शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। ‘पोस्टमर्टमका लागि हामीले आइतबार पत्राचार गरिसकिएको छ, आज पोस्टमर्टम हुन्छ,’ उनले भने, ‘यसपछि मृत्युको कारण पनि खुल्न सक्छ।’
उनका छोरा भारतमा अध्यनरत थिए। बुवा बेपत्ता भएको खबरपछि उनी स्वदेश फर्किएका थिए। उनले यस घटना अनुसन्धानका लागि ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता सिंहले जंगल क्षेत्रमा साथीहरूसँग मिलेर रिसोर्ट खोल्ने र कृषि फर्म सञ्चालनको तयारी गरेका थिए।
सोही क्रममा कृषि फर्म जाने क्रममा बाटो बिराएर जंगलमा हराएको भन्दै केहीलाई फोन गरेर जानकारी पनि गराएका थिए। उनी सवार मोटरसाइकल गोरूसिंङ्गे क्षेत्रको जंगलमा फेला परेपछि उनको खोजी थालिएको थियो। आइतबार उनको शव सोही जंगल क्षेत्रमा फेला परेको थियो। उनको साथमा मोटरसाइकलको चाबी, पर्सलगायत सामान पनि भेटिएको थियो। प्रहरीका अनुसार उनको शरीरमा बाहिरी चोट केही देखिएको छैन। उनमा श्वासप्रश्वास समस्या र उच्च रक्तचाप थियो भने औषधि पनि सेवन गर्दै आएका थिए।
































