फाइल तस्बिर
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–१, खारुलामा शनिबार साँझ पहिरोले घर पुरिँदा दुई जना हराएका छन्।
पहिरोमा परेर खारुलाकी ८३ वर्षीया रति खत्री र ५४ वर्षीय उमासिंह खत्री हराएको सशस्त्र प्रहरी बलका डीएपसी शैलेन्द्र थापाले जानकारी दिए। रति र उमासिंह आमाछोरा हुन्।
त्यस्तै, भेरी नगरपालिकाकै रिसांगामा पहिरो जाँदा ६० वर्षीय रामबहादुर शाही र ४५ वर्षीय सिद्धिबहादुर कामी घाइते भएका छन्। रामको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए। दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, जाजरकोट लगिएको थियो। तर, अस्पतालले रामलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ।
पहिरोले खारुलाका एक, गैरी गाउँका चार र चिसापानीका तीन घर पुरिएका छन्। पहिरो गएको स्थानमा सशस्त्रका प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ। तर, पहिरो कारण सुरक्षाकर्मी घटनास्थलमा पुग्न सकेका छैन।































