सप्तरी । राजविराजस्थित कारागारको सुरक्षामा खटिएका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् । बिहीबार राति भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका कारागार प्रमुख रुपक मण्डलले जानकारी दिए ।
उनका अनुसार ड्युटीमा रहेका प्रहरी जवान अजयकुमार मेहताले बोकेको एसएलआरबाट गोली चल्दा यादवको ढाडमा लागेको छ । शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नम्बर–४ उक्त घटना भएको मण्डलले जानकारी दिए ।
घाइते यादवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प रेफर गरिएको छ। घटनापछि प्रहरी जवान मेतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।





































