काठमाडौं । पाराग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ ।
फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गरेको हो । खेलको ६७ औँ मिनेटमा फ्रान्सका डिजायर डुवोलाई पेनाल्टी एरियामा पाराग्वेका खेलाडीले अवरोध पुर्याएका थिए ।
भीएआर चेकमार्फत त्यसलाई फाउल निर्णय गर्दै फ्रान्सलाई पेनाल्टीको मौका दिइएको थियो । उक्त मौकाको सदुपयोग गर्दै क्लियन एम्बाप्पेले ७० औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । उक्त अग्रता अन्तिम समयसम्म रक्षा गर्दै फ्रान्सले जित हात पार्यो ।
पेनाल्टीमार्फत गोल गरेसँगै जारी विश्वकपमा एम्बाप्पेको गोल संख्या सात पुगेको छ । विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ ।
१९ खेलमार्फत उनले १९ गोल गरेका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीको रेकर्डसँग बराबरी गर्न उनी एक गोलले मात्रै पछि छन् । क्वाटरफाइनलमा फ्रान्सले मोरोक्कोको सामना गर्नेछ । क्यानडालाई पराजित गर्दै मोरोक्को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।


































