बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले चन्द्रलाल अर्याललाई उम्मेदवार बनाएको छ । २०३० सालमा ढोरपाटन–२ कुत्थाप्लामा जन्मेका अर्यालले त्रिभूवन विश्वविद्यालयबाट स्नातकसम्मको शिक्षा हासिल गरेका छन् ।
१२ दाजु–बहिनीमध्येका कान्छा अर्याल आफू राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्किएको बताउँछन् । १२ वर्षकै उमेरदेखि जनमोर्चाबाट राजनीति सुरु गरेका उनी २०५७ सालदेखि माओवादीमा जोडिएका हुन् ।
‘मेरो राजनीतिक परिवार हो । जेठो दाजु पन्चायतमै वडाध्यक्ष हुनुहुन्थ्यो । माइलो दाजु तुलसीलालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ,’ उनी भन्छन्, ‘राष्ट्रिय जनमोर्चाको पुष्टभूमि हुँदै २०५७देखि म माओवादीमा आवद्ध छु । जनयुद्धमा पनि सामेल भएँ । त्यसपछि निरन्तर माओवादीमै छु २०४२ सालदेखि राजनीतिमा आवद्ध भएको हुँ ।’
राजनीतिसँगै उनी विभिन्न संघसंस्थामा पनि आवद्ध भए । ‘यसअघिको सरकारले कामै गर्नै सकेन । विकास, जनसरोकार र जनचासोका केही काम भएनन् । बेथिति र भ्रष्टाचारमात्रै मौलायो,’ उनी भन्छन्, ‘म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु ।
०००
म गत चुनावमा पनि मेयरको आकांक्षी थिएँ । पार्टीले अर्कोलाई टिकट दियो । जिताउन लागेँ । तर, चुनाव एमालेका देवकुमार नेपालीले जित्नुभयो ।
माओवादीको निष्ठावान कार्यकर्ता भएकोले यसपटक पार्टीले मलाई विश्वास ग¥यो । यसअघिको सरकारले केही काम गर्नै सकेन । विकास, जनसरोकार र जनचासोका काम भएनन् । बेथिति र भ्रष्टाचारमात्रै मौलायो । ढोरपाटन बाग्लुङको एउटा यस्तो नगरपालिका हो जहाँ गत वर्षको बेरुजुमात्रै ६ करोड २५ लाख छ । यहाँ बेथिति र भ्रष्टाचार भयो । विधिको शासन भएन ।
सुशासन र विकास भएन । पाँच वर्षमा जनताका आधारभूत आवश्यकता र यहाँको समस्याको समाधान गर्ने कुनै काम भएन । कुनै खालको खाका बनेन । यहाँको विकास र सुशासन र पारदर्शिताका लागि मेरो उम्मेदवारी हो । म यहीँ ठाउँमा विभिन्न सामाजिक संघसंस्था हुँदै ४९ वर्षदेखि राजनीतिमा क्रियाशील छु । कुनै नचाहिने काम गरेको छैन । अनैतिक काम गरेका छैन ।
मेरो धेरै आधार छन् । म विपक्षी दलका उम्मेदवारभन्दा बौद्धिक, सामाजिक र शैक्षिकरूपमा पनि अब्बल छु । मतदाताले मत दिनुहुन्छ । मैले यहाँको अवस्था बुझ्छु ।
ढोरपाटन आरक्ष यहाँको पहिचान हो । पर्यटकहरू आउँछन् । धार्मिक पहिचान पनि छ । धेरै पूर्वाधार निर्माण गर्न पनि बाँकी छ । सुन्दर ढोरपाटन उपत्यका छ । जहाँ सिकार आरक्ष छ । जुन विश्वकै नमूनायोग्य ठाउँ हो । विश्वमै दुर्लभ बन्यजन्तु नाउरको सिकार गरिन्छ । लोपउन्मुख जातका बन्यजन्तु पनि छन् । संरक्षित राख्नुपर्ने पनि छन् ।
धार्मिक र पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र हो । म निर्वाचनित भएपछि कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउँछु । ढोरपाटन उपत्यकासम्म पुग्ने पक्की मोटरबाटो बनाउने सोच बनाएको छु । वडा कार्यालयसम्म मोटर बाटो पु¥याउने अठोट छ । यहाँ बिद्युतको केन्द्रीय लाइन बुर्तिबाङ बजारसम्म मात्रै छ । त्यसलाई वडा र गाउँगाउँसम्म पु¥याउने योजना छ ।
कृषिमा ठूलै सुधारको योजना छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना छ । परम्परागत पशु पालनलाई आधुनिकीकरण गर्नुछ । जनताको जीवनस्तर कृषिबाटैमाथि उकास्न सकिन्छ भन्नेमा म दृढ छु । कृषकहरूलाई अनुदान दिने योजना छ । जस्तै एक लिटर दूध बेच्ने किसानलाई २० रुपैयाँसम्म अनुदान दिन सक्नेगरी नगरपालिकाले योजना बनाउने अठोट गरेको छु । मासु, फलफूल र तरकारी आदिमा पनि त्यस्तै योजना छ ।
ढोरपाटनमा उद्योगधन्दा छैन । यहाँ दुई/तीन वटा ठूल्ठूला उद्योगधन्दा स्थापना गर्ने योजना छ । यहाँ जडिबुटीसम्बन्धी उद्योग स्थापना गर्न सकिन्छ । यहाँ आलू खेती प्रख्यात छ ।
आलुसम्बन्धी विभिन्न परिकार बनाउने उद्योग स्थापना गर्न सकिन्छ । काठ पैदावारहरू ठूलो संख्यामा खेर गइरहेको छ । काष्ठ उद्योग पनि स्थापना गर्न सकिन्छ । राज्यकै तर्फबाट ठूलो भोलुममा उद्योग सन्चालन गरेर हजारौँ युवालाई रोजगार दिने प्रतिबद्धता गरेको छु । विदेश जान नपर्ने स्थिति सिर्जना गर्छु ।
ढोरपाटनको बुर्तिबाङ बजारमा १५ श्य्याको एउटा अस्पताल छ । त्यसलाई स्तरउन्नती गरी वृद्धि गर्ने योजना छ । प्रत्येक वडामा डाक्टरसहितका स्वास्थ्य इकाइहरू राख्ने योजना छ ।
शिक्षको हकमा ब्याचलरसम्म सन्चालन हुने क्याम्पस छ । माध्यामिक तहसम्मको शिक्ष पूर्ण निःशूल्क बनाउने योजना छ । कुनै पनि शूल्क नलिने, परीक्षा शूल्क पनि लिन नपाइनेगरी व्यवस्था गर्छु । स्नातकसम्मकै पढाइ निःशूल्क गर्न सकिने सम्भावना छ । क्याम्पसको अध्यक्ष पनि मै भएकोले सबै निःशूल्क गर्ने अठोट लिएको छु ।
शिक्षामा आमूल परिवर्तन ल्याउन केन्द्रसँग समन्वय गरेर विद्यालयका सुविधा सम्पन्न र आधुनिक भवनहरू निर्माण गर्ने योजना छ । शिक्षकहरूलाई थप केही भत्ताको व्यवस्था गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने योजना छ ।
ढोरपाटनको दुर्गममा एउटा दलितको बच्चाले पाउने शिक्षा र अलि तल बजारका बच्चाले पाउने शिक्षामा फरक छ । त्यसमा समानता ल्याउने योजना छ ।
स्थानीय आवश्यकताका आधारमा पाठ्यक्रम बनाएर पनि लागू गर्छु । म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु ।
म यहाँको स्थानीय बासी हुँ । यहाँको समस्या मलाई राम्ररी थाहा छ । बुझेको छु । विगतमा पनि उम्मेदवारहरूले धेरै ठूला प्रतिबद्धता गर्नुभयो । काम भएन । नगरपालिकाको प्रशासकीय भवन समेत बनेन । वडाका भवन पनि निर्माण भएनन् । पद्धतिगत ढंगले काम भएन । म काम गरेर देखाउँछु । जनअपेक्षा र आवश्यकता हेरेर काम गर्छु । जनताका समस्या सुनेर काम गर्छु । म जितेपछि पनि आफ्ना प्रतिबद्धता बिर्सिन्नँ । जनताले मलाई विश्वास गर्छन् ।
विश्वस्त छु । पाँच हजार मतान्तरले चुनाव जित्छु । यहाँ अनियमितता बेथिति, विधिको शासन छैन । पादर्शिता र योजना छैन । अब मेरो अगुवाइमा ती व्यवस्था गर्छु । जनताले गलत पात्र र प्रवृति परिवर्तन गर्न खोजिरहेका छन् । प्रवृति र पात्र परिवर्तन गर्ने यो सुनौलो अवसर हो । सुशासनयुक्त र भ्रष्टाचारमुक्त नगर सरकार बनाउँछु । सबै जनता नयाँ पात्र ल्याउन आतुर छन् । विपक्षीले ल्याउनेभन्दा दोब्बर बढी मत ल्याएर जित्छु ।
जित्ने अर्को बलियो आधार नेकपा एमालेबाट ठूलो समूह विद्रोह गरेर आएको छ । एमाले प्रदेश कमिटी सदस्यद्वयसहित सयौँ नेता–कार्यकर्ता माओवादीमा फर्किनुभएको छ । गलत पात्र र गलत बदल्ने बेला आएको छ ।








































