काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२र८३ को बजेटले समेटेको बताए ।
कार्यक्रममा बोल्दै उनले बजेट निजी क्षेत्रको ‘कि ड्राईभर’को रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए ।
‘हामी आफ्ना फाईदाका लागि मात्रै नभई समग्र अर्थतन्त्रको सुधारका लागि माग राख्दै आएका छौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘सोही सुझावहरुलाई सरकारले यसपाली कानुन र बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी व्यवस्था गरिदिएको छ ।’
निजी क्षेत्रले दिएका धेरै सुझावहरु बजेटमा समेटिँदै गर्दा यसमा समेटिएका सुझावहरुलाई कार्यान्वयनमा भने सरकार चुक्न नहुने उनले बताए । यसअघि पनि निजी क्षेत्रले समग्र अर्थतन्त्र उन्नयनका लागि माग गरेका बिषयहरु बजेटमा समेटिएपनि सोही अनुसार कार्यान्वयन नहुने भएपछि भने निजी क्षेत्र जहिले निरुत्साहित हुँदै आएको बताए ।
























