काठमाडौं । भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा शाहको पोस्टमार्टम आज गरिने भएको छ। शाहको पोस्टमार्टमा आज भुवनेश्वरमै गरिने भएको हो। उनको शव अहिले भुवनेश्वरको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राखिएको छ।
शुक्रबार विहान मृतक विद्यार्थीका परिवारका सदस्यहरूले शहर आइपुगेपछि शव पहिचान गरेका थिए। स्थानीय प्रहरीले विद्यार्थीको मृत्युबारे अनुसन्धान गरिरहेको छ।
शुक्रबार भुवनेश्वर पुगेका प्रिशाका परिवारले छोरीसँग अन्तिमपटक बिहीबार दिउँसो तीन बजे कुराकानी भएको बताएका छन्। कुराकानीमा उनी सामान्य नै रहेको प्रिशाका अभिभावकले बताएका छन्।
ती अभिभावकले भने, ‘हामीले उनीसँग दिउँसो ३ कुरा गरेका थियौं। सबै ठिक लागिरहेको थियो र केही समय गफ गर्यौँ। तर बेलुका ८ बजे हामीले उनको मृत्युको खबर पायौँ।’




































