काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् ।
प्रधानमन्त्री बालेनले पठाएको उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको सिंहदरबार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पनि यसबारे राष्ट्रपतिसमक्ष पत्रचार भइसकेको पुष्टि गरिन् । सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेको गणतन्त्र दिवस समारोहमा पनि नबोल्ने गरी राष्ट्रपतिलाई पत्राचार गरिएको हो।
यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए ।
यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।
त्यसपछि प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रधानमन्त्री हरेक महिना संसद्मा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीले विरोध जनाएका छन् ।
निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका छैनन् । प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा प्रधानमन्त्री बालेन कतै पनि औपचारिक रूपमा बोलेको छैनन् ।



































