कठै मेरो देश, अनि देशको युवा म !

—रोशन थापामगर
पछिल्लो केही समय यता महंगीले जनताको ढाड सेकिसकेको छ । दैनिक ज्यालादारीमा काम गर्नेलाई त बिहान बेलुकाको खाना जोहो गर्न पनि मुस्किल भएको छ । अझ काठमाडौं, पोखरा, बुुटवल, नेपालगञ्ज र बिराटनगरलगायतका ठूला शहरमा बस्छुु भन्ने म जस्ता श्रमिकको त के कुरा गर्नु ! समयमै तलब आएन भने कति छाक त भोकै टार्नुपर्छ ।

कैयौं रात भोकभोकै काट्नु पर्छ । यस्तो हुँदा गाउँ फर्किउँ कि भन्ने पनि लाग्छ । तर, यो भीडभाडदेखि टाढा गाउँ फर्केर पनि गर्ने के नै छ र ? महंगीले अब शहरमा बाँच्न सकिँदैन कि भन्ने लागेर मैले उनीसँग सल्लाह गरेँ । ‘सानु अब यो शहरमा बस्न सकिएला जस्तो छैन । गाउँ जानुपर्छ । बिहेपछि बरु उतै भएको जमिनमा केही उत्पादन गरेर बसौंला नि ?’

मेरो प्रस्ताव सकिन नपाउँदै उनको उत्तर आइहाल्यो, ‘छ्या के कुरा गरेको । गाउँमा बसेर गोबर सोत्तर सकिन्छ र ?’
उनको प्रश्नले मन खिन्न भयो । रिस पनि उठ्यो, केही दिनअघि उनले सामाजिक सञ्जालमा महंगीबारे विरोध जनाउँदै स्टाटस पोस्ट्याएकी थिइन् । ‘सरकार महंगीले जनता मर्न लागिसके । आन्तरिक उत्पादन वृद्धिमा कुनै योजना ल्याउन सकेन । बजेट खाली वितरणमुखी मात्रै भयो’ यस्तै–यस्तै असन्तुष्टि पोखेकी थिइन् ।

अहिले अधिकांश युवाको सामाजिक सञ्जालमा राज्यप्रति तीव्र असन्तुष्टि देखिन्छ । सरकारले केही गर्न नसक्दा युवा विदेशीन बाध्य भए, आन्तरिक उत्पादन भएन, सबै रकम आयातमै सकिन थाल्यो । तर, यो तीव्र आक्रोशबीच कसैले पनि यति लेख्न भ्याउँदैनन् कि, हामीले देशको अर्थतन्त्र उकास्न के कति ग¥यौं ?

यो प्रश्न मैले उनलाई पनि सोधेँ, अनि व्यङ्ग्य गर्दै भने पनि, ‘हुन त तिमीले पनि देशलाई योगदान त दिएकै हौं नि ! भएको जमिन बाँझो राखेर, बाहिरको तयारी खाद्यान्न उपभोग गरेर, उनी मुसुक्क हाँसिन् र बोलिन्, ‘यस्तै त हो । सबै शहरमा बसेर भविष्य खोज्छन् । तपाईं गाउँ जाने भन्नुहुन्छ । गाउँमा बस्न त सक्दिनँ है कान्छा ! अलिअलि भए पनि कमाएर शहरमै बस्ने व्यवस्था मिलाउनुस् ।’

अहिलेका मानिस सुविधाभोगि त छँदैछन्, यसमा कुनै द्वुविधा छैन, तर हामीले सुविधाका नाउँमा राज्यलाई कति भार पार्यौं ? हामीले दिनरात दुःख गरेर कमाएको आम्दानी कहाँ खर्च गर्यौं ? खाडीको तातो रापमा पिल्सिएर पठाएको रकम कहाँ सदुपयोग गर्यौं ? गर्यौं त केवल खान लाउनमै, आखिर दुई छाक खान र एक ओत लाग्ने घरकै लागि हो भने ज्यान जोखिममा राखेर अर्काको देश किन भौंतारिरहेका छौं ? अहिलेको यक्ष प्रश्न यहीँ हो । यो प्रश्नको उत्तर खोज्ने युवा जमात सायदै होलान् ।

२०७३ सालसम्म म आफ्नै घरको अवस्था सम्झिन्छु । तीन वटा फराकिला ‘पाटो’मा कहिल्यै मकै, कहिले गहुँ त कहिल्यै आलु लगाउँथ्यौं । पाटोको उत्पादनले मात्रै तीन महिना पुग्थ्यो । बिहान–बेलुका फेरिफेरि खाना खाने चलन थियो । जसकारण घरमा नुन, चिनी र बेसार बाहेक भान्सामा प्रयोग हुने वस्तु बजारबाट किन्न पर्दैनथ्यो ।

कहिले काहीँ चाडपर्वमा भने सेलरोटी, अर्सा आदि के–के, के–के बनाउनका लागि रङ राम्रो हुन्छ भनेर बजारबाट चामल भने किनिन्थ्यो । तर खानकै लागि किन्ने चलन थिएन । हुन त, त्यसबेला मेरो गाउँ निक्कै दुर्गम भएर होला सो ठाउँमा बजार सहज पनि थिएन । तर, घरकै उत्पादनले जेनतेन धानिहाल्यो । जब घरमा कमाउने मान्छे थपिँदै गए, तब लेकमा जानै छाड्यौं । केही समय अघिसम्म गहुँका बाला झुल्ने लेकको उर्बर जमिन अहिले दुबो उम्रिएको छ, उजाड बनेको छ ।

जागिरबाट आएको रकमले खाद्यान्न किन्न थालियो । गाउँमा आरु, ढँटेलो, तोरी, ओखर र फर्सीकोे बीउसमेतबाट तेल निकालिन्थ्यो । अहिले त हरेकका भान्सामा ‘सनफ्लावर’ र भटमास कै तेलका बोतल हुन्छन् । मलाई याद छ कपालमा लगाउनका लागि आमाले दुई÷तीन महिनाको फरकमा धारा तेल किन्नु हुन्थ्यो ।

अहिले घरबारी र धान फल्ने खेतबाहेक वरपरका जमिनसमेत उजाड छन् । कुनैबेला गाउँ मात्रै होइन, लेकसम्म अन्नका बाला झुलेका हुन्थे । अहिले जताततै उजाड । काम गर्ने जनशक्ति गाउँमा बस्दैनन् । शहरमा अध्ययनका लागि आएका हामी जेनतेन सानोतिनो जागिर गर्न थालेपछि यतै बसियो । गाउँ गए पनि कहिलेकसो दशैं तिहारमा मात्र हो । अहिले घर गएर आफ्नो उत्पादन खान पाउँदा विशेष दिनजस्तो लाग्छ ।

गाउँमा सबैको परिस्थिति यस्तै हो । खेतबारी बाँझो राखेर शहरमा महंगी विरुद्धको आन्दोलनमा सहभागी भइरहेका छौं । तर कसैले पनि ‘हामीले उत्पादनका लागि के गर्यौं त ?’ भन्ने कहिल्यै सोचेनौं । कम्तिमा बिक्रीका लागि नभए पनि आफूलाई खान पुग्ने उत्पादन गरे हुन्थ्यो । विज्ञानले समेत पौष्टिक आहारका रूपमा पुष्टि गरेका जौं, उवा, मकै कुनै बेला हाम्रा प्रमुख खाद्यबाली थिए । तर, अहिले किताबका पानामा चित्र राखेर पढाइ मात्र हुन्छ ।

गतवर्ष बुवा बिरामी हुनुभयो । मैले शहरमा आएर सँगै बस्न आग्रह गरेँ । तर, बुवाको जवाफले मन विक्षिप्त भयो, ‘तिमीहरु शरणार्थीसँग कसरी बस्नु । पोकामा चामल, दाल लिएर खान्छौ । मेरो त यहाँ खेतबारी छ, गाईबाख्रा छन् । म त्यहाँ आएँ भने, यिनलाई कसले सम्हालिदिन्छ ?’ जसको पूरै जीवन गाउँबस्तीमा लेकबेसी गर्दै बित्यो, उनै बुवा थाकेका छैनन् । तर, हामी हिलो देख्ने बित्तिकै पन्छिन्छौं । अहिले मल अभावको समाचार जताततै छन् । सदनदेखि सडकसम्म मल अभावले माहोल तताएको छ । तर, एकपटक हाम्रो कृषि प्रणाली कस्तो भयो भन्नेतर्फ कसैले हेरेको देखिँदैन ।

पहिले हरेकको घरमा गोठ हुन्थे । गोठमा पर्याप्त गाईवस्तु हुन्थे । गाईवस्तुबाट मल उत्पादन मात्रै होइन, दुधदही र भेडाबाख्राबाट मासुसमेत उत्पादन हुन्थ्यो । जसकारण न मल किन्न पथ्र्यो न दुधदहीका लागि बजारका डेरी चहार्नु पथ्यो । विडम्बना, अहिले नुनदेखि सुनसम्म किन्नुपर्ने अवस्था आएपछि कसरी जोगिन्छ आम्दानी ?

पश्चिम भनौं कि दुर्गमतिर उखान छ, ‘जसको गोठमा गाई र घरमा माई हुन्छन्, त्यो घरमा मात्रै लक्ष्मीको बास हुन्छ ।’ माई त ठीकै हो, महिलाबिना घर व्यवस्थित हुँदैन । ‘तर, यो झन्झटिलो गाईलाई चाहिँ यति महत्तव किन दिएका हुन?’ जस्तो लाग्थ्यो । अहिले बुझ्दैछु गाईवस्तु नहुँदा मल नहुने, जसकारण जमिनले राम्रो उत्पादन दिन नसक्ने र उत्पादन दिनसक्ने जमिनमा कसले दुःख गर्ने ? यो कृषि प्रणाली बुझ्न लामो समय लाग्यो ।

नेपालको कृषिप्रणालीमा त्यति दुःख पनि छैन, जति प्रचारमा ल्याइन्छ । नेपालको खेतीप्रणाली तराईबाहेक पहाडमा मौसमी हुन्छ । बाली लगाउँदा र भित्र्याउँदाबाहेक अन्यबेला दुःख गर्नुपर्दैन ।

रेखदेखका लागि त परिवारको एक सदस्य नै भए पुग्छ । तर, हामी शहरिया, सुविधाभोगी र आधुनिक भइसक्यौं । त्यो गोबर सोहर्ने काम कसले गर्छ ? भएका गाईबाख्रा पनि बेचेर आईफोनमा टिकटक बनाउँदैमा हामीलाई फुर्सद छैन । मिसावटयुक्त खाद्यान्नले बिरामी भइरहँदा खानामा होइन उपचारमा चिन्ता लिइरहेका छौँ ।

विदेश जाने या शहर पस्ने अधिकांशको एउटै बोली हुन्छ, ‘गाउँमा दुःख गरेर के गर्नु ! बजार छैन । बेकारमा समय मात्रै खेर जान्छ । बरु बजारमा सस्तो पाइहाल्छ नि,’ हामी सहज र सस्तोका पछि लाग्दा विष सेवन गरिरहेको पत्ता नै पाउँदैनौं । अस्पतालको बेडमा पुगि सकेपछि आउने लाखौंको बिलले बल्ल ब्युझाउँछ ।

विडम्बना, पछिल्लो पुस्ताले त्यही अस्पतालको शैयाबाहेक बाहिर निस्केपछि सबै भुलिहाल्छ । राज्यका केही नीतिगत कमजोरी पनि होलान् । तर, दिनभर सामाजिक सञ्जालमा चहार्ने, अनि भएको जमिन बाँझो राखेर आफ्नो खाना पनि उत्पादन गर्न नसक्ने हामी युवाले राज्यलाई ‘सराप्ने’ कुनै अधिकार छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित