रोशन थापामगर । साना मानव वस्तीहरूलाई गाउँ भनिन्छ । शहरको तुलनामा गाउँमा अलि कम जनसंख्या हुन्छ । गाउँमा सुविधा ज्यादै नभए पनि सौन्दर्यले सबैको मन जित्छ ।
नेपालमा यस्ता धेरै सुन्दर र मनमोहक गाउँहरू छन् । यीमध्ये मेरो प्रिय गाउँ चिसापानी ।
सांस्कृतिक, प्राकृतिक, धार्मिक, भाषिक तथा परम्परागत रूपमा अब्बल छ मेरो गाउँ । मेरो गाउँमा अझै पनि बिजुली छैन भन्दा मलाई लज्जाबोध हुन्छ, तपाईंलाई पनि विश्वास नलाग्न सक्छ तर यहीँ हाे, यथार्थ ।
स्थानीय सरकार आएको पनि ६ वर्ष पूरा भएर ७ वर्ष टेकेको छ । याे अवधिमा जनतालाइ आधारभूत आवश्यकताको अनुभूतिसम्म पनि दिलाउन सकिरहेको छैन ।
बागलुङको बडिगाड गाउँपालिका–१० चिसापानी गाउँमा अहिलेसम्म विद्युत् सेवा पुगेकाे छैन । विद्युत् नभएका कारण यहाँका ४०/ ४५ घर परिवार वर्षौदेखि अन्धकारमा बस्न बाध्य छन् ।
गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय रामबहादुर बुढा बताउँछन् । विद्युत् नहुँदा त्यहाँका बासिन्दालाई निकै कठिनाई भोग्नुपरेको चिसापानीका युवा दिपेन बुढाको भनाइ छ ।
गाउँपालिकादेखि नजिकैको दुरी मात्र रहेपनि सम्बन्धित निकायले विद्युत् लाइन विस्तारको लागि खासै चाँसो नदिँदा गाउँनै अन्धकार छ ।
स्थानीय श्री मगर विद्युत् सेवा नहुँदा सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेको बताउँछन् । सामान्य फोन तथा फेसबुक चलाउन पनि डाँडामा पुग्नुपर्ने बाध्यता छ ।
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरि केही ठाउँमा काम भएपनि ठेकेदारको लापरबाहीले गति लिन नसकेको तर्क गछिन् । ठेकेदारसँग सम्पर्क भए विद्युत् विस्तारको काम सुरु उनको भनाइ छ ।
वर्खाको समयमा बिजुलीको मात्रै समस्या होइन, स्वास्थ्य सेवाको पनि समस्या उस्तै छ । सामान्य भन्दा सामान्य औषधि उपचारका लागि पनि एक दिनको यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता छ ।
निःशुल्क शिक्षा, सञ्चार, स्वास्थ्यलगायत विषय संविधानमा लेखिएपनि जनताको नजिकको सरकारले त्यसतर्फ ध्यान पुर्याउन सकेकाे छैन ।
निर्वाचनमा होमिँदै गर्दा ठूलठूला आश्वासनहरु बाँड्दै हिँड्ने नेताहरूले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेको पाइँदैन । यसले जनतालाई अझै अन्धकारमै राख्नेछ । मेरो गाउँको विकास देखेर मलाई ‘सुखी नेपाली, समृद्व नेपाल’को कथा लेख्न बाध्य बनायो ।
नेपालको विकासका लागि गाउँगाउँ कुनाकन्दरामा सञ्चार र विद्युतीकरण हुन जरुरी छ । जसले अन्धकार गाउँहरूलाई उज्यालो बनाउनेछ । अन्धकारमा रुमलिएका गाउँलेहरूको जीवनमा ज्योति छर्ने छ । उनीहरूले पनि उज्यालो देख्न र महशुस गर्न पाउनेछन् ।





































