काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले घाटा खाएर सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको बीमा कार्यक्रम सोमबारदेखि पुनः सुरु गर्ने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै १५ असारदेखि पुनः ओपीडी सेवा सुरु गर्ने जनाएको हो । बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म उपलब्ध हुने अस्पतालले जनाएको छ ।
लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।
सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन अघि बीमा बोर्डले बाँकी भुक्तानी गरेपछि अस्पतालले कार्यक्रम पुनः सुरु गर्न लागेको हो ।



































