काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । अध्यक्ष ओलीको तर्फबाट आयोगका सचिव मुरारी खरेललाई भेटेर शुक्रबार उक्त निवेदन दर्ता गराएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।
निवेदनमा ओलीले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गरेका छन् । ओलीले आयोगले लिएको बयान एवं कागजातहरूको प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरेका छन् ।
आयोगले संविधान र कानून विपरीत कारबाही सिफारिस गरेको र त्यसले आफूलाई प्रत्यक्ष असर परेको ओलीको भनाइ छ । ‘आयोगले संविधान र कानूनविपरीत कारबाहीको सिफारिस गरेको अवस्था देखिँदा र यसबाट मलाई समेत प्रत्यक्ष असर परेको हुँदा यस सम्बन्धित निर्णय वास्तविक हो वा होइन रु यस्तो निर्णय र निष्कर्षमा पुग्दा कस्तो तथ्य, प्रमाणहरू संकलित भए भन्ने विषय थाहा पाउनु मेरो अधिकार हो,’ निवेदनमा उनले भनेका छन्, ‘आयोगले नागरिकको आफ्नैविरुद्धमा भएको भनिएको निर्णय र सो निर्णयको आधारको रूपमा रहेको छानबिन वा अनुसन्धान प्रतिवेदन मलाई औपचारिक रूपमा पठाउने छ भन्ने कुरामा म विश्वस्त थिएँ । तर नियतवश म समेतलाई लाञ्छित गर्ने गरी गरिएको निर्णय गरिएको भनी सार्वजनिक भएको तीस दिन हुन लाग्दासमेत मलाई सोको औपचारिक जानकारी नदिएको हुँदा यो निवेदन पेश गरेको छु।’





























