काठमाडौं । काठमाडौंको हायात होटलमा रहेको क्यासिनो प्राइडमा भएको १४ करोड रुपैयाँ डकैती प्रकरणका मुख्य नाइके मानिएका कुले भन्ने कुलध्वज लामा र कोरियन भने राकेश लामा धरौटीमा रिहा भएका छन्।
उनीहरू अदालतबाट निकै कम धरौटीमा रिहा भएका हुन्। बिचौलियामार्फत बेन्च मिलाएर उनीहरूले धरौटीमा रिहाइ पाएको स्रोतको दाबी छ।
लामो समय फरार रहेका उनीहरुलाई अदालतमा उपस्थित भएर ४–४ लाख धरौटीमा छुटेका हुन्। जबकी सो गिरोहका सामान्य आरोपीहरू भने कारागार चलान भएका थिए। दलालमार्फत सेटिङ मिलाएर छुटेको उनीहरूले बताउने गरेका छन्।
दुवै जना पटके अभियुक्त समेत हुन्। कुलमानविरुद्ध यसअघि ५ वटा तथा कोरियनविरुद्ध ७ वटा मुद्दा दायर भइसकेको थियो।
यस्तो पृष्ठभुमी हुँदा पनि उनीहरू यती गम्भीर अपराधमा सहजै छुटेपछि प्रहरी अधिकारी पनि अचम्मित भएका छन्। दुवै जना गुन्डागर्दीमा संलग्न हुँदै आएका छन् । २४ भदौको आन्दोलनमा प्राइड क्यासिनोबाट सो समूहले १४ करोड लुडेर भागबन्डा गरेका थिए। त्यसरी भागबन्डा गरेको पैसा पनि बरामद हुन सकेको छैन ।
यी हुन् यो मुद्दामा पक्राउ परेकाहरू
दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ भने कारागारमा छन्।
गिरोहका सामान्य व्यक्ति जेल चलान हुँदा नाइकेहरु भने धरौटीमा छुटेका हुन्। कारागारमा रहेकाहरू पनि उच्च अदालतबाट छुट्ने प्रयासमा छन्। उनीहरुले दलाल र बिचौलियामार्फत बेन्च मिलाउनलाई सेटिङ हानेको गोप्य स्रोतले बताएको छ।
त्यसो त जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको सम्पत्तिका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो । डकैती लगायत अपराधबाट केही व्यक्तिले करोडौं सम्पत्ति जोडेको पाइएपछि छानबिन अगाडी बढाइएको छ ।































