काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले कांग्रेसको बृहत्तर एकताका लागि तीनबुँदे प्रस्ताव गरेको छ । इतरसमूहका तर्फबाट पत्रकार सम्मेलन गर्दै नेता प्रकाशशरण महतले तीनबुँदे प्रस्ताव अघि सारेका हुन् ।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिबीच समझदारी गरेर १५औँ महाधिवेशनका लागि नयाँ संयन्त्र बनाउने, क्रियाशील सदस्यताको विवाद मिलाउने र विधान संशोधनमा साझा सहमति गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
उनले एकाध भेटबाट पार्टीमा एकता नहुने बताउँदै निरन्तर छलफल हुनुपर्ने बताए । उनले अहिले आफूहरूले कुनै किसिमको पद र भागबन्डा नमागेको बताए । १५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितताको ग्यारेन्टी मात्रै आफूहरूले चाहेको उनले बताए । महतले विशेष महाधिवेशनबाट आएको समिति पार्टीमा सर्वशक्तिमान हुन नसक्ने भन्दै १५औँ महाधिवेशनपछि आउने समिति मात्रै सर्वस्वीकार्य हुनसक्ने बताए ।
महतले सदस्यताको डिजिटल नवीकरकणका नाममा वर्षौंदेखि पार्टीमा काम गरेका नेता तथा कार्यकर्ताहरूलाई बन्देज लगाउन नहुने बताए । सदस्यता नवीकरण यसअघि नै भइसकेकाहरूलाई फेरि डिजिटलका नाममा छुटाउन नहुने उनले बताए । ‘गरेनौँ भने गाडी छुट्छ भनिएको छ । गाडीमा बसिसकेकाहरूलाई पनि निकाल्न खोजेर हुँदैन’ महतले भने ।
उनले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताउँदै पार्टीभित्र बृहत्तर एकता आवश्यक रहेको बताए । प्राविधिक रूपमा विषेश महाधिवेशनबाट नेतृत्वमा आएकाहरूको एकताका लागि गम्भीर पहल गर्नुपर्ने बताए । ‘कति साथी पार्टी छोड्दै हुनुहुन्छ । कतिपय साथीहरू निष्क्रिय हुनुहुन्छ । केही फाट्टफुट्ट भेटघाटबाट एकताले पूर्णता पाउन सक्दैनु, उनले भने, ‘बृहतर एकता कसरी गर्ने उहाँहरूले पहलकदमी लिनुपर्छ ।’
उनले १५ औँ महाधिवेशनको निष्पक्षता, पारदर्शीता स्वामित्व हुन जरुरी बताउँदै भने, ‘उहाँहरूले भनेजस्तो सुनिश्चित गरिहाल्छौँ भनेर आधार र विश्वास हुन सक्दैन । ग्यारेन्टी खोजेका छौँ भाग खोजेका छैनौँ । १५ औँ महाधिवेशन निर्वाचन गर्ने, विधान संशोधन गर्न, क्रियायाशील सदस्यता टुंग्याउने साझा संयन्त्र भयो भने महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ ।’


































