काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका ७ घुमाउनेमा रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसेका छन्।
सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले जनाएको छ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा २५ जना र नेपाली सेनाको सेनानीको कमान्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित उद्धार गर्ने कार्य भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार ६०/६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेका छन्। हाल खोलामा पानीको वहाव घटिरहेको छ। प्रहरीले रोक्दारोक्दै जबर्जस्ती सवारी चलाएको कारण यस्तो घटना हुन पुगेको प्रहरीको भनाई छ।
राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले उद्धार कार्यका लागि खटिएका सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको छ।

































