काठमाडौं । नेपाली कांग्रेस (विशेष महाधिवेशन पक्ष)का उपसभापति विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । शुक्रबार आधिकारिकता दाबी गर्नका निमित्त निर्वाचन आयोग पुगेका उपसभापति शर्माले आफूहरूले दुई दिनभित्रै सबै उम्मेदवारी टुंगो लगाउने बताए ।
‘अब ६ माघ आउन केवल चार दिन बाँकी छ । हामी जानकारी गराउन चाहन्छौँ । पार्टीका सभापति आदरणीय गगनकुमार थापाको सभापतित्वमा बसेको केन्द्रीय समितिको बैठकले संसदीय बोर्ड पनि गठन गरिसकेर हामी १६५ क्षेत्रका लागि उम्मेदवारी अबको २ दिनभित्रमै टुंग्याउने गरी हाम्रो टिमले कार्य गरिरहेको छ । घोषणापत्रको टिमले कार्य गरिरहेको छ,’ उनले भने ।
उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका २९ जना महाधिवेशन प्रतिनिधिहरूले मात्रै हस्ताक्षर फिर्ता लिएको बताए । निर्वाचन आयोगमा आजै छलफलका क्रममा संस्थापनपक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता गरेको दाबी गरेका थिए ।





































