काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फालाई निलम्बन गरिएको जानकारी दिएको हो। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ।
फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधा पनि तत्काल निलम्बन भएको छ।
फिफाका अनुसार निलम्बन कायम रहेसम्म एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।
अर्को सूचना जारी नहुँदासम्म एन्फा निलम्बनमा रहने फिफाले जनाएको छ।




























