काठमाडौं । काभ्रको पनौती नगरपालिकाभित्र निजी र सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोडमा संलग्न रहेका भिडिओ फोटो बाहिर आएपछि रास्वपाका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।
भदौ २४ गते पनौती नगरपालिकाका पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा,कांग्रेस नेता शिव हुमागाईँ, क्याप्टेन रामेश्वर थापालगायतका नेता तथा व्यवसायीको घरमा आगजनी भएको थियो ।
आगजनीका घटनामा संलग्नमध्ये रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाको संलग्नताका प्रमाण बाहिरिएपछि उनीहरूले गल्ती भयो भन्दै पार्टीबाट राजीनामा दिएका छन् ।
पनौतीमा तोडफोड र आगजनीको कमान्ड नै रास्वपा नगर सभापति भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले सम्हालेका थिए । भट्टराई काठमाडौँ विश्वविद्यालय कुप्स विद्यालयका स्थायी शिक्षक समेत हुन् । विद्यालयले भट्टराई स्थायी शिक्षकका रूपमा कार्यरत रहेको स्वीकार गरेको छ ।



































