काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।
यसैगरी, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार नदीमा आएको बाढी भन्सारको यार्ड (ड्राइपोट)मा समेत पसेको छ । यार्डमा बाढी पस्दा त्यहाँ राखिएका केही कन्टेनर बगाएको जानकारी आएको उनले बताए ।
हालसम्म मानवीय क्षतिको कुनै विवरण नआए पनि बगाएका कन्टेनरमा ड्राइभरहरू हुनसक्ने अनुमान रहेको उनको भनाइ छ । क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको उनको भनाइ छ ।
बाढीमा केही फसेको खबर समेत आएको छ । उनीहरूको उद्धार प्रयास भैरहेको उनले बताए ।
‘अहिलेसम्म मानवीय क्षतिको विवरण छैन । तर, बाढीमा केही फसेको जानकारी आएको छ । उनीहरूको उद्धार प्रयास हुँदैछ । मौसमका कारण उद्धारमा हेलिकप्टर जान सकेको छैन’ प्रजिअले भने ।
































