काठमाडौं । योङ कम्युनिष्ट लिग (वाईसीएल)को अध्यक्षमा १३ जना आकांक्षी देखिएका छन् । वाईसीएल इञ्चार्ज दीपशिखाले संगठनको केन्द्रीय समिति र पदाधिकारी बैठकमा आकांक्षीहरूको नाम आह्वान गरेका थिए, जहाँ १३ जनाले अध्यक्ष र ८ जनाले महासचिवमा दावी गरेका छन् । उनका अनुसार अध्यक्षका लागि १३ जना, महासचिवमा ८ तथा अन्य पदसहित ९९ जनाले नाम बुुझाएका छन् ।
उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौरागलगायत अध्यक्षको आकांक्षी देखिएका छन् । यी मध्ये कुँवर, ओली, ऐर, शाही र पुलामी अध्यक्षको बलियो दाबेदार रहेको संगठनका नेताहरू बताउँछन् । नेताहरूका अनुसार अध्यक्षका प्रायः सबै आकांक्षी प्रचण्डनिकटका हुन् ।
वाईसीएलका एक नेता भन्छन्, ‘सिनियरलाई अध्यक्ष बनाउने सहमति भयो भने केहरसिंह बलियो देखिन्छन् । चुनाव हुने अवस्था बन्यो भने प्रतिस्पर्धा गर्न अरु पनि तयार देखिन्छन् ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा नेतृत्वको टुंगो लाग्न नसके चुनावमा जान निर्देशन दिएकाले निर्वाचनको सम्भावना पनि रहेको ती नेता बताउँछन् ।
नेताहरूका अनुसार अध्यक्षका प्रायः सबै आकांक्षी प्रचण्डनिकटका हुन् । ‘धेरै आकांक्षी हेडक्वाटर निकट भनेर चिनिएकाहरू नै छन्,’ उनले भने, ‘इञ्चार्ज दीपशिखा र वर्तमान अध्यक्ष सुवोध शेर्पाली आफूनिकटलाई अध्यक्ष बनाउने प्रयासमा छन् । दुवै प्रचण्डनिकट भएकाले जो अध्यक्ष बने पनि प्रचण्डकै बन्ने हुन् ।’
यस्तै उपाध्यक्षमा नवीन खड्का, मनिषा चदारा, रीतमान पुन, अखिल शाही, सुनील सुनार, मोहित विक, अनु कुँवर, अविलास लामा, शर्मिला तामाङ, अर्जुन साउदलगायतले दाबी गरेका छन् । यसमा अधिकांश प्रचण्ड समूहका छन्।
महासचिवमा अहिलेसम्म विपिन आचार्य, सन्तोष पनेरु, हरि ढकाल, शिव बोगटी, धनकुमार मैनाली, शोभाराम भण्डारी, कुमार आचार्य र शंकर पौडेलले दाबी गरेका छन् । उपमहासचिवमा पनि शिला नेपाली, अनन्त प्रकाश श्रेष्ठ, सानन अधिकारीले दाबी गरेका छन् । कोषाध्यक्षमा भने अहिलेसम्म राजीव गिरीले मात्रै दाबी गरेका छन् ।

































