बागलुङ । बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको बैशाखसम्म इन्धन शीर्षकमा मात्रै लाखौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को पछिल्लो आय व्यय विवरण अनुसार पदाधिकारी र कार्यालय प्रयोजनका लागि छुट्टाछुट्टै शीर्षकमा इन्धन खर्च पाइएको हो ।
विवरण अनुसार गाउँपालिकाले पदाधिकारी र कार्यालय सञ्चालनका लागि कुल ३३ लाख रुपैयाँ इन्धन बजेट विनियोजन गरेकोमा हालसम्म २३ लाख ८१ हजार ४ सय ९६ रुपैयाँ खर्च भइसकेको छ।
विवरण अनुसार पदाधिकारीले १० लाख २२ हजार ३ सय ३६ रुपैयाँको इन्धन लिएका छन् । कार्यालय प्रयोजनका लागि १३ लाख ६५ हजार १ सय ८० रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा पदाधिकारीको इन्धन खर्च ११ लाख, कार्यालय प्रयोजनका लागि भनेर २२ लाख र अन्य प्रयोजन भनेर ३ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।





































