काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ। भक्तपुरको गुण्डुमा भएको सचिवालय बैठकले आवश्यकता अनुसार सदन र सडकमा विरोध एवं भण्डाफोर अभियान गर्ने निर्णय गरेको हो।
एमालेले सरकार लोकतन्त्रको बाटोबाट विचलित हुँदै स्वेच्छारी र अधिनायकवादतर्फ अघि बढेको ठहर गरेको छ।
‘संसद बैठक स्थगित गरी अध्यादेश ल्याएको, सुकुमवासीलाई अव्यवस्थित ढंगले विस्थापित गरेको, सीमामा अव्यावहारिक कडाइ गरेको, निहित स्वार्थ पूरा गर्न प्रधानन्यायाधीश नियुक्तीमा वरीयता मिच्ने काम गरेको, प्रधानमन्त्रीले राष्ट्रपतिको अपमान गरेर संसदीय मामिलाको गम्भीर उल्लंघनलगायतका कार्यको पार्टीले घोर विरोध गर्छ र सरकारलाई सचेत पनि गराउँछ,’ उपमहासचिव लेखराज भट्टले सचिवालयको निर्णय सुनाउँदै भने।
यस्तै महँगी, दलित, महिलालगायतप्रति हिंसा बढ्दासमेत सरकार मौन रहेको एवं उद्योगी व्यवसायीहरूलाई हतोत्साही बनाउने काम भएको पनि उनले बताए। नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) सकिएको छ। आजको बैठक ९ घण्टा बसेको थियो।





































