काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व छान्न आज मतदान हुने भएको छ।
पोखरामा जारी दशौं महाधिवेसनबाट सर्वसम्मत नेतृत्व छान्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउन लागिएको हो।
संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दिएका छन्। अध्यक्षका दुबै उम्मेदवारले प्यानल बनाएर अधिकांश पदमा उम्मेदवारी दिएको युवा संघले जनाएको छ।
अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।
अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।
युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रिय समितिमा ४ सय जना बढीले उम्मेदवारी पेश गरेको संघका इन्चार्ज राजीव पहारीले जानकारी दिए। सहमतिमा नेतृत्व छान्ने प्रयास अझै जारी रहेको उनले बताए।
उम्मेदवारी फिर्ता लिनका लागि सोमबार विहान समय दिएको पनि उनले बताए। उम्मेदवारी फिर्ताको समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र इलेक्ट्रिक भोटिङ मेसिनमा उम्मेदवारको नाम इन्ट्री गरेर निर्वाचनमा जाने तयारी गरिएको पहारीले बताए।
‘भोटिङ मेसिनमा नाम इन्ट्री गरेर सेटिङ मिलाउन समय लाग्छ। त्यसपछि मात्र मतदान हुन्छ,’ उनले भने, ‘त्यतिबेलासम्म पनि सहमतिको प्रयास जारी राख्छौं।’




































