काठमाडौं । विवाह दुई व्यक्तिको मिलनको विन्दु मात्र होइन, दुई परिवारको मेल अनि नवजोडीका लागि नयाँ जिम्मेवारी पनि हो। त्यो जिम्मेवारीले महिला र पुरुष दुवैमा थप परिपक्व बनाउन मद्दत पुर्याउँछ।
ललितपुरको पाटन अस्पतालमा २०४० सालमा जन्मिएका मनोज गुरुङको जीवनमा पनि यस्तै भयो। विवाहपछि उनको जीवनमा यसरी बदलियो कि उनी अल्लारे केटो मात्र भइरहन पाएनन्, जिम्मेवार छोरा, पति, बुवा र व्यवसायी समेत बने।
दुई भाइमध्येका कान्छो हुन् मनोज। कान्छो भएकाले परिवारको माया अलि बढी नै हुने भइहाल्यो। बुवाआमासँगै दाइको पनि स्नेह पाए।
बुवा लालबहादुर समाजसेवामा सक्रिय थिए भने आमा तारादेवी स्याङ्जामा जनप्रतिनिधि (वडाध्यक्ष) भएर करिब ८ महिना काम गरेपछि त्यागेर दुग्ध विकास संस्थान (डिडिसी)मा जागिरे भइन्। लालबहादुर त्यतिबेला मुस्ताङ लो देखि १२ गाउँको मुखियाजस्तै थिए। अहिले स्वयम्भूमा रहेको मुस्ताङ गुम्बा पनि उनकै पहल र नेतृत्वमा बन्यो।
लालबहादुर तत्कालीन अवस्थामा रापप्राको राजनीतिक गर्दै, गुम्बाको अध्यक्ष हुँदै व्यापारमा समेत थिए। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग उनको राम्रै सम्बन्ध थियो। तत्कालीन राजपरिवारलाई उनले मुस्ताङमा सिकार खेल्न समेत लिएर गएका थिए।
समाजसेवा र जागिरसँगै उनीहरूले व्यवसायलाई पनि विस्तार गर्दै थिए। तारादेवी जागिर र परिवार मात्र नभएर होटल तथा ह्यूमन रिसोर्स र रियल स्टेटको काममा समेत सक्रिय थिइन्। त्यो समयमा अलराउन्डर महिला हुनु चानचुने कुरा थिएन। तर तारादेवीमा अदम्य सहास र आँटले व्यवसाय सफल भयो।
‘बुवाआमाले धेरै संघर्ष गर्नुभयो। बुवा त समाजसेवा भनेर लाग्नुहुन्थ्यो, आमाको सहास देखेर म छक्क पर्थेँ। उहाँ मान्छे आटिलो हो’, मनोज सम्झन्छन्।
पढाइसँगै मनोजका दाइ विदेशिए। बुवाआमाले सम्हाल्दै आएको व्यवसाय हेर्नुपर्ने जिम्मेवारी मनोजको काँधमा आइपुग्यो। उनी मात्र थिए २० वर्षको अल्लारे युवक। आमाले उनलाई सघाउन आग्रह गर्थिन्। उनी मन नलागि नलागि दिनभर कार्यालय गएर बस्थे। दिनकै कार्यालयमा जाँदा उनमा कार्यालय र कामको अवस्थामा चासो बढ्न थाल्यो। यद्यपि पूरै भिजसकेका भने थिएनन् उनी।
उनी सम्झन्छन्, ‘त्यतिबेला त जाने एकछिन हेरेर फर्कने मात्र काम हुन्थ्यो। ह्यूमन रिसोर्स, ट्रेनिङ सेन्टर लगायतका व्यवसाय थियो। लामो समय जाँदा जाँदै अलि–अलि चासो पनि बढ्न थाल्यो।’
२०६७/६८ मा विवाह भएपछि भने व्यवसायलाई अलि गम्भीर रूपमा लिन थाले उनले। विवाहपछि जीवनशैली पनि परिवर्तन भएको र जिम्मेवार बनेको महसुस गर्छन् उनी। ‘विवाहपछि मेरो जीवनशैली नै परिवर्तन भयो भने जिम्मेवार पनि बनायो। त्यसपछि नै हो मलाई व्यवसायलाई समय दिनुपर्छ भन्ने लागेको।’
त्यसपछि भने उनी व्यवसायमै सक्रिय हुँदै दृढ इच्छाशक्तिका साथ काममा लगाव बढ्न थाल्यो। व्यवसायमा उनले सबैभन्दा चासो दिएको विषय हो फाइनान्स क्षेत्र थियो। पछि शिक्षा र रियल स्टेटको कारोबार पनि सम्हाल्न थाले भने यसबीचमा ऊर्जासहित अन्य थुप्रै व्यवसायमा पनि लगानी गरे।
उनी भन्छन्, ‘यसबीचमा विभिन्न प्रकारका काममा पनि लागेँ। त्यसमा कुनैमा घाटा भयो कुनै बन्द नै गर्नुपर्यो भने कुनै साथीलाई छाडेर हिँडियो। व्यापार भनेको यस्तै रहेछ।’
आमाले आफ्नो सन्तान कहिल्यै गलत मार्गमा हिँडोस् भन्ने चाहँदैन। त्यसैले उनीहरू सन्तानलाई मार्गदिर्नेश गरिरहन्छन्। त्यही अनुसार मजोज व्यवसायमा लाग्ने बेलादेखि अहिलेसम्म पनि तारादेवी भनिरहन्छिन्, ‘बाबु, कामले काम दिन्छ है, काम गर्न चाहिँ छोड्नु हुँदैन।’
मनोज अहिले आमाको त्यहीँ पदचाप पछ्याइरहेका छन् भने उनले आफ्नो सिद्धान्त पनि त्यसैलाई बनाइरहेका छन्। सफलता पाइएन भनेर बीचमै छोडेमा हात पर्न लागिसकेको सफलता पनि नभेटिन सक्छ। निरन्तरको लगाव र कर्मले नै ढिलोचाँडो सफल भइनेमा उनी विश्वस्त पनि देखिन्छन्।
‘व्यवसाय र जीवनको गति सधैँ एउटै ग्राफमा जाँदैन, कहिले तल र कहिले माथि भइराख्छ। यसलाई माथि उठाउनका लागि संघर्ष गर्नुपर्छ। सफलताको सबैभन्दा ठूलो मन्त्र नै निरन्तरता हो। उतारचढावलाई व्यवस्थापन गर्दै आत्मविश्वासी भएर अघि बढ्नु नै सफलताको एक कदम अघि बढ्नु हो।’
यद्यपि उनी आफूलाई सफल मान्दैनन्। जीवनमा गर्नुपर्ने कामहरू धेरै बाँकी भएको ठान्छन् उनी। हरेक दिन आउने चुनौतीलाई सामना गर्न तयार हुनुछ उनलाई।
शिक्षा, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स, हुयूमन रिसोर्स, ऊर्जा क्षेत्रलगायतमा गरेर मनोजको मातहतमा अहिले दुई सयभन्दा बढी कर्मचारी छन्।
०००
मनोजले अहिले विशेष प्राथमिकता शिक्षा क्षेत्रलाई दिएका छन्। त्रिपुरेश्वरमा उनको डीईसीसी नेपाल नामक नेपालकै ठूलो परीक्षा सेन्टर छ। जहाँबाट वर्षेनी लाखौं विद्यार्थीले क्याम्ब्रिज युनिभर्सिटीको परीक्षा दिन्छन्। नेपालमा हुने सबै परीक्षा उनको यही सेन्टरबाट हुने गर्छ।
यसका अलावा उनले नक्सालको मेरियट होटलको शाखा पनि लिने तरखरमा छन् भने रियल स्टेट र ऊर्जा क्षेत्रमा पनि लगानी बढाउँदैछन्।
मनोज समूहको ताकतमा विश्वास गर्ने व्यक्ति हुन्। त्यसैले सामुहिकतामा बढी जोड दिन्छन्। त्यसैले पनि उनले हात हालेका अधिकांश क्षेत्रमा सफल भएका छन्।
‘यो समूहगत काम हो, आफ्नो मन सफा छ भने काममा पनि सफलता हात पर्छ जस्तो लाग्छ मलाई,’ उनी भन्छन्, ‘बरु घाटा खान्छु तर खराब इन्टेसन राखेर कहिल्यै पनि काम गर्दिन।’ उनी कमाइ बढाउनका लागि लगानी बढाउनुपर्नेमा जोड दिन्छन्। यसबाहेक खर्च बढ्यो भने पनि मान्छे मिहिनेती हुने उनको भनाइ छ।
‘खर्च बढ्यो भने मान्छेको आम्दानी बढाउनुपर्छ भन्ने सोच हुन्छ। त्यसो भयो भने काममा समय र लगाव अझै दिन मन लाग्छ’, उनी थप्छन्।
श्रीमतीको साथ
भनिन्छ एउटा सफल पुरुषको पछाडि जहिल्यै महिलाको हात हुन्छ। यो मामिलामा मनोज भाग्यमानी छन्। उनलाई उनकी श्रीमतीले एकदमै दरिलोसँग साथ दिएकी छन्। उनी भन्छन्, ‘एकअर्कालाई नबुझ्ने महिला परेको अवस्थामा केटा मानिसको जीवन अगाडि बढाउन निकै गाह्रो हुन्छ। यो मैले देखिराखेको पनि छु।’ उनी विवाहका लागि समय लिन मात्र सुझाउँदैनन्, पश्चिमा संस्कृतिको रूपमा बुझिने ‘लिभिङ टुगेदर’को पक्षमा समेत वकालत गर्छन्।
‘हामीले आफ्नो जीवनसाथी कसलाई चुन्ने भन्ने कुरा सबैभन्दा बढी महत्वपूर्ण हो। यसको लागि धेरै समय लिनुपर्छ। पश्चिमा समुदायको सबैकुरा राम्रो छ त भन्दिन, तर कतिपय कुराहरू अपनाउन सकिन्छ। जस्तै– ‘लिभङ टुगेदर’ मलाई ठिक लाग्छ, उनीहरू सँगै बस्दा धेरै कुरा थाहा हुन्छ।’
मनोजको उनकी श्रीमतीसँग प्रेम विवाह भएको हो। १६ वर्षको उमेरमै उनीहरूबीच प्रेम भएको थियो। ‘१६ वर्षको उमेरमा मेरो उनीसँग लभ परेको थियो। अहिले २३ वर्षदेखि हामी साथमा छौँ। यसबीचमा उतारचढाव त भयो नै तर म यो अवस्थामा आउनुमा उनको धेरै ठूलो भूमिका छ।’
सन्तानको माया
अहिले मनोज एक सन्तानका बुवा हुन्। आफ्नो दैनिक काम सकेर मनोज घर पुग्दा जहिल्यै अबेला हुन्छ। कहिले त मध्यरात नै हुन्छ। यद्यपि जति नै मध्यरात भए पनि उनी बिहान सबेरै उठेर आफ्नो छोरालाई आफैँ तयार पारेर विद्यालय पु¥याउन जान्छन्। उनी आफ्नो सन्तानले भविष्यमा आफ्नोबारे केही सुखद् पलहरू याद गरोस् भन्ने चाहन्छन्।
‘प्राय म आफैँले तयार पारेर छोरालाई स्कुल छाड्छु। उसले भविष्यमा पनि मेरो बुवा सधैँ मलाई स्कुल छोड्न आउनुहुन्थ्यो भन्ने याद राखोस् भन्ने चाहन्छु। यस्तो अनुभव मैले बाल्यकालमा कहिल्यै गर्न पाइनँ। यो बुवाप्रतिको गुनासो चाहिँ हैन। सायद त्यो बेलाको समय नै त्यस्तै थियो।’
कामको सिलसिलामा देशबाहिर गइरहनुपर्छ मनोज। दुई हप्ता भन्दा लामो समय उनी विदेशमा बस्दै सक्दैनन्। सन्तान र देशको न्यास्रो लागिहाल्छ रे। ‘दुई हप्ताभन्दा बढी काठमाडौं बाहिर बस्न सक्दिन। होमसिक हुन्छ। फर्किहाल्नुपर्छ।’
कोरोना महामारी र लकडाउन
कोरोना महामारी र त्यसपछि भएको लकडाउनले विश्वभर प्रभाव पारेजसरी उनको व्यवसायमा पनि असर भयो। त्यो समयमा उनले एकदमै ठूलो घाटा व्यहोर्नुप¥यो। यद्यपि उनले हिम्मत हारेनन्। भएका व्यवसाय जोगाउन उनी लागिपरे। अहिले पनि त्यही समयमा लागेको घाटा परिपूर्ति गरिरहेको उनी बताउँछन्।
‘लकडाउनको समयमा हामीले ठूलो समस्या भोग्यौँ। एकदमै नोक्सानमा गयौँ। अहिले हामीले लस रिकभरको फेज पारे गरेका छौँ। त्यसको असर चारदेखि पाँच वर्षसम्म देखिन्छ र देखिरहेको छ। अझै गर्नुछ। गर्दै जाऔँ।’
विदेशिएका युवालाई सुझाव
मनोजलाई युवाहरू विदेशिएकोमा त्यति धेरै चिन्ता लाग्दैन, जति चिन्ता विदेशबाट फर्किएपछिको अवस्थालाई देखेर लाग्छ। युवाहरू विदेशिएर नेपाल फर्किएपछि अलमलिएको देख्दा उनलाई साह्रै नमज्जा लाग्दो रहेछ। त्यसका लागि राज्यले मार्गनिर्देश नगरेकोमा पनि उनी दुःखी छन्।
उनी भन्छन्, ‘विदेशबाट फर्कनेबित्तिकै उहाँहरूसँग केही रकम साथमा हुन्छ तर के गर्ने भन्ने आइडिया नै हुँदैन। उहाँहरूको लागि ‘वान स्टप सोलुसन’ खोलेर राज्यले मार्गनिर्देशन गर्नुपर्छ। त्यसो नभएको खण्डमा आएको पैसा सकिएपछि पुनः विदेश नै फर्कनुपर्ने अवस्था हुन्छ।’
कृषिप्रधान भनिएको देशको ९५ प्रतिशत भन्दा बढी खाद्यान्न आयात हुँदा उनको मन चसक्क हुँदो रहेछ। त्यसका लागि विदेशबाट फर्किएर आएका युवाहरूलाई कृषि क्षेत्रमा लगाउँदा राम्रो प्रतिफल आउने उनको सुझाव छ।
‘देशमा सम्भावना कृषि र पर्यटनमा छ भन्छन्। तर, नेपालमा उत्पादित कृषि उत्पादन बजारमा पाइँदैन। ९५ प्रतिशत उत्पादन आयातित छ। आयात हुनेबित्तिकै सबैकुरा महंगो परिहाल्यो नि१ त्यसैले आउने पुस्ता र विदेशबाट फर्किने श्रमिकलाई राज्यले उचित अवसर दिनुपर्छ।’
राज्य र सञ्चारकर्मीबाट अपेक्षा
राज्य कर उठाउने काउन्टर मात्र नभएर व्यवसायी र सर्वसाधारणको हितका लागि काम गनुपर्ने उनको सुझाव छ। राज्यले सहुलियत दिएमा कर स्वतः उनी बताउँछन्।
‘राज्यले व्यवसायी र सर्वसाधारणका लागि केही नगर्दा उनीहरू कर कसरी छल्ने भन्नेतर्फ उद्दत देखिन्छन्। अहिले पनि अधिकांशले आफूले कमाएको २० प्रतिशतको कर तिर्दैनन् होला। अरुले नबोल्लान् तर यो कुरा फ्याक्ट नै हो। हाम्रा बिजनेश हाउसहरूले ८० प्रतिशतसम्म कर तिरे भने देश धेरै उभो लाग्छ।’
उनी थप्छन्, ‘सरकारले केही सुविधा दिँदैन भनेपछि व्ययवसायीहरूले आफ्नो आम्दानी लुकाएर कर छलिरहेको बुझिन्छ। सरकारले सुविधा बढाउनका लागि सबैभन्दा पहिला व्यवसायी आफैँ सुध्रन जरुरी छ।’
देशमै सम्भव छ भन्ने भावना जगाउन सञ्चार क्षेत्रको सकरात्मक भूमिका हुनुपर्ने ठान्छन् उनी। सञ्चारमाध्यममा विदेशिएको समाचार हाइलाइट भएर आउने भए पनि स्वदेश भित्रिएको समाचार हाइलाइट नभएकोमा उनको गुनासो छ।
‘सञ्चारमाध्यमले नेपालीहरू विदेशिएको समाचारलाई बढी हाइलाइट गरिरहेको देखिन्छ। जहाजहरू खाली त अवश्य पनि आएका छैनन्। त्यहाँ नेपालीहरू नै बसेर आएका छन्,’ उनी थप्छन्, ‘सञ्चार क्षेत्र भनेको देशको समग्र विकासको माध्यम हो। सञ्चारकर्मी र सञ्चार क्षेत्र पनि जिम्मेवार बन्नुपर्छ। यो सञ्चार क्षेत्रमाथि उठेको एउटा प्रश्न पनि हो।’







































