शालिकरामकाे संघर्ष : गौशालाको क्यापदेखि कमलपोखरीको ‘कम्प्लेक्स’सम्म

काठमाडाैं । मकवानपुरको तत्कालीन चित्लाङ गाविस–९ विशुन्खेलको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् शालिकराम अधिकारी ।
खेतीकिसानी गरेर बुवाआमाले हुर्काएका हुन् उनलाई । चित्लाङबाट काठमाडौं आउन चार घण्टा पैदल हिँडनुपर्थ्यो। उनका बुवा तरकारी बोकेर काठमाडौंमा बेच्न आउँथे ।

बुवाआमाको दुःख देखेर उनलाई काठमाडौं आउन मन लाग्यो उनलाई । घुम्न होइन कामका लागि । त्यही सोचका साथ २०५४ सालमा काठमाडौं छिरे शालिकराम ।

उनलाई काम गर्न मन भए पनि बुवाले छोरो पढोस् भन्ने चाहन्थे । त्यसै उनलाई बुवाले पनौतीस्थित आफन्तको घरमा पढ्न राखे । त्यहाँ एक देखि डेढ वर्ष बसेपछि उनलाई पुनः काठमाडौं छिर्न मन लाग्यो, त्यो पनि व्यापार गर्न । त्यसपछि २०५५ सालमा उनी औपचारिका रूपमा काठमाडौं फिरे ।

गौशालाको फुटपाथदेखि कमलपोखरीको कम्प्लेक्ससम्म
काठमाडौं छिनेबित्तिकै उनले गौशाला र चावहिलको सडक पेटीमा क्याप व्यापार गर्न थाले । महाबौद्ध होलसेलबाट २५ देखि ४० रूपैयाँसम्म क्याप टोपी किनेर गौशाला र चावहिलमा लगेर बेच्थे उनी । दिनमा पाँच सय देखि एक हजार रूपैयाँसम्म आम्दानी गर्थे ।

उनले सम्झिए, ‘त्यो समय जैसी देवलमा कोठा भाडामा बस्थ्यौँ, यहाँबाट हिँडेर गौशाला र चावहिल पुग्थ्यौँ। भाडा हुँदा हिँड्दै जान्थ्यौं भने नहुँदा कयौंपटक पैदल नै गइएको छ।’

तर, फुटपाथको व्यापार कारण पैदलयात्रुलाई नै सास्ती भएपछि सरकारले प्रहरी लगाएर व्यापारीलाई हटायो । त्यसपछि उनको गरि खाने ठाउँ नै भएन । अनि सडकको व्यापारले नहुने रहेछ भन्ठानेर घरभित्र बसेर गर्ने कामको खोजीमा लागे । केही समयको खोजपछि पुरानो बानेश्वरमा काम पाए । त्यहाँको अमरदीप गार्मेन्टमा उनले मासिक १५ सय रूपैयाँमा काम थाले ।
जे काम पनि छिटो सिक्ने स्वभावका कारण उनले त्यहाँ छोटो समयमा राम्रो प्रगति गरे । २०५६ / ५७ को बीचमा त्यहाँ काम गरेका उनले तलब चार हजार पाँच सय रूपैयाँ पुगेको थियो । यद्यपि उनले त्यहाँ लामो समय काम गरेनन् ।

केही नयाँ गरौँ भन्ने स्वभावका कारण उनले नयाँ काम गर्न थाले अनि पसे ठमेल । त्यहाँ उनले पर्यटकहरूका लागि बेचिने होजेरी कपडाको व्यापार थाले । यद्यपि उनको स्वभाव स्थिर थिएन । त्यसकारण दुई वर्ष होजेरी कपडाको व्यापार छाडेर उनले ठमेलमै मःम होटल राखे, त्यो पनि सञ्चयकोष भवनभित्र । व्यापार ठिकै थियो । फाइदा अरु व्यापारमा जस्तै भए पनि खटाइ ज्यादा थियो ।
त्यहाँ पनि एक वर्षजस्तो मात्र काम गरे उनले । पुँजी नभएकाले त्यहाँ पनि धेरै काम गर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । त्यसका अलावा देशमा माओवादी सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो । संकटकाल लगायतका अनेक अवरोधहरू आउँथ्यो । त्यसकारण पनि समस्या भयो ।

मःम व्यापारबाट उनले जेम्स ज्वेलरीका आइटमहरूको व्यापारमा हामफाले। उनी झोलाम त्यस्ता सामान बोकेर बेच्न हिँड्थे । जेम्सका सम्पूर्ण सामानहरू भारतको जयपुरबाट आयात गरिने उनी बताउँछन् ।

‘जेम्सका सम्पूर्ण सामानहरू भारतको जयपुरबाट आउँथ्यो पहिला,’ उनी भन्छन्, ‘उनले अहिले पनि त्यहि नै हो ।’
त्यतिमात्र होइन, अधिकारी थाङ्काको व्यापारमा पनि लागे । त्यतिबेला उनी थाङ्का बोकेर पसल पसलमा बेच्न पनि हिँडे । सानातिना व्यापार र व्यवसायमा संलग्न उनले ठमेलका हरेकजसो व्यवसायमा आफूलाई संलग्न गराए ।

त्यहाँबाट अलि–अलि आम्दानी भएपछि उनमा केही ठूलो गर्नुपर्छ भन्ने सोच पलायो अनि २०७१ सालमा घरजग्गासम्बन्धी कारोबारमा संलग्न भए । त्यतिबेला घरजग्गाको कारोबार उच्च थियो भने नाफा पनि प्रशस्तै। त्यसका लागि अधिकारीलाई चितवन ठिक लाग्यो । उनले सम्झिए, ‘चितवनको चैनपुरमा सम्झौता गरेर दुई बिगाह जग्गाको प्लटिङ सुरु भयो । त्यतिखेर एकदमै सस्तो थियो जग्गा ।’

घरजग्गा कारोबारले राम्रो गरिरहेको बेला सरकारको नीतिका कारण त्यो व्यवसाय पनि उनलाई फापेन । त्यो समयमा चितवनमा चालिस हजारदेखि एक लाख रूपैयाँ प्रतिकट्ठा पर्ने जग्गाको मूल्य २५ लाख रूपैयाँ कट्ठासम्म पुगेको उनको अनुभव रह्यो ।

घरजग्गाको कारोबार माथि नउकासिने लक्षण देखेपछि उनले थोरै नाफा खाएर त्यसलाई सल्ट्याए । यद्यपि चितवनमा अहिले पनि उनले केही जग्गा राखेका छन् । कृषि व्यवसायका लागि । त्यही बीचमा हाउजिङको साथमा यातायातका सवारी साधनहरू भाडामा लगाउने काम पनि गरे । अहिले भने उनले काठमाडौंको हात्तिसारस्थित कृष्ण पाउरोटी पछाडि जग्गा भाडामा लिएर ‘सान कम्प्लेक्स’ खोलेका छन् । सान कम्प्लेक्समा अहिले पनि सात हजार वर्गफिट खाली छ ।

‘राम्रा मान्छे आए भने भाडामा दिन्छु, भएनन् भने आफैँले एउटा रेस्टुरेन्ट खोल्ने सोचमा छु,’ उनले थपे, ‘यसका साथै अन्य अफिसको समेत स्पेशहरू बनेका छन् । मान्छेहरू ल्यापटप ल्याएर बसेर काम गर्नसक्ने अवस्था छ ।’

कृषि पर्यटनको योजना
त्यसबाहेक कृषि कर्ममा पनि संलग्न छन् उनी । चितवनमा भएको आफ्नो जग्गामा उनले माछापालन गरिरहेका छन् ।
उनले थपे, ‘कृषिप्रधान देश भनेर हल्ला गरेको छ । कृषिमा के हुँदो रहेछ त सम्भावना, गरौँ न त भन्ने सोचका साथ चितवनमा रहेको जग्गामा काम भइरहेको छ ।’

चितवनको जगतपुर चोकमा उनले नारायणी एग्रो नामक कम्पनीमार्फत १० विगाह क्षेत्रफलमा माछापालन गरिरहेका छन् । तत्कालका लागि माछा मात्र भए पनि भविष्यमा गाई, भैंसी, बाख्रा लगायतका सबै किसिमका पशुपक्षी पालनमा हात हाल्ने उनको योजना छ । त्यसका अलावा औषधीय गुण भएको मोरिङ्गा (शितल चिनी)को खेती लगाउने समेच उनको सोच छ ।
चिवतनमा भएको आफ्नो कृषि कर्मलाई उनी अझ विस्तार गर्न चाहन्छन् अधिकारी ।

29b78389 f9c9 43de a98c e3823e095eaf https://newskhari.com/storage/2024/12/tiger_adhikari.jpg

नारायणी एग्रोलाई ‘नारायणी एग्रो टुरिजम’को रूपमा विकास गर्ने उनको योजना छ । त्यसका लागि त्यहिँ कोठाहरू बनाएर त्यहि स्थानमा पर्यटकलाई बसाउने व्यवस्था गर्दैछन् ।

उनले थपे, ‘नेपाल सरकारले कृषिलाई प्राथमिकतामा राखेको हुनाले एग्रो टुरिजमलाई रोजेको हुँ । मेरो माछा फार्म छ, त्यहाँ वरपर होटल बन्छ। पर्यटकहरूले नै माछा मार्न पाउनुभयो । हामी बनाइदिन्छौँ वा उहाँ आफैँ बनाउनुहुन्छ । त्यसपछि उहाँ त्यहिँ खानुहुन्छ। हामी यो सोचका साथ अगाडि बढिरहेका छौँ ।’

कृषि र माछापालनका लागि उनले आफ्नो एग्रोमा दुई जना पार्टनर छन् । उनी लगानी गर्नेलाई मात्र पार्टनर भन्न रुचाउँदैनन्, कामको तरिकाले सहयोग गर्नेलाई पनि उनी पार्टनरकै रूपमा चिनाउन चाहन्छन् । सरकारले सहयोग नै नगरे पनि सानै तवरबाट भए पनि काम त गर्ने सोचमा छन् उनी ।

‘सरकारले सहयोग गर्यो भने त हामी भाग्यमानी, सहयोग गरेन भने पनि अलि अलि गरेर त गर्नैपर्छ । हामी त अहिले ६ वटै कोठाबाट भए पनि सुरु गरौँ भनेर लागिपरेका छौँ । त्यसको लागि दौडधूप चलिरहेको छ’, उनी अगाडि भन्छन् ।

मेडिकल व्यवसाय
अधिकारी घरजग्गाको काममा रहिरहँदा देशमा कोरोना महामारीका कारण लकडाउन भयो । त्यसमा उनले अवसर देखे । साथीभाइहरूबीच सल्लाह गरेपछि उनले मेडिकल व्यवसायमा हात हाले ।

‘मेडिकल व्यवसाय ठिक लागेपछि हामीले मनहरा हेल्थकेयर सेन्टर भनेर लोकन्थलीबाट ठिमी जानेपट्टी साइडमा सुरु गर्यौँ,’ उनले भने, ‘पहिला डेन्टर भनेर मात्र थियो पछि जनरल चेकअप हुने गरी काम गर्यौँ ।’ लकडाउनपछि खोलेको हेल्थ केयरमा अहिले डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरेर १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बिजनेसको लहर
नेपालमा हरेक व्यवसायहरू लहर बनेर आएको उनलाई लाग्छ। एक कालमा एक व्यवसायमा सबै जना संलग्न भएको उनको बुझाइ छ ।
‘२०६० पछि नेपालको रियल स्टेडमा भिर र पहरा केही भनेनन् मान्छेले, त्यसमा लागे पछि सेलाए,’ उनले थपे, ‘लकडाउनमा मेडिकल क्षेत्रमा काम गर्नेहरूको लहर बढेर आएको थियो, अहिले यो सुस्त छ ।

अहिले अस्पतालहरू सबै बिक्रिमा छन् ।’ साना लगानीकर्ताहरूले गरिरहेको व्यवसायमा ठूला लगानीकर्ताहरू छिरेपछि सानाले उठेर हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनका अनुसार देशका हरेक क्षेत्रमा सिन्डिकेट छ, त्यसकै कारण ठूला लगानीकर्ताले सानालाई उठिबास लगाउने अवस्था आइसकेको छ ।

f92ab728 61da 4bfc a9ac b08bfa4d0bb7 https://newskhari.com/storage/2024/12/tiger_adhikari.jpg

उनी थप्छन्, ‘अहिले २० देखि ४० लाख रूपैयाँको नेपालमा काम गर्नुको कुनै अर्थ छैन । ऋणधन गरेर करोडौंमा लगानी गर्नेहरूको ठिक छ ।’

विदेश गएका युवालाई सन्देश
शालिकराम विदेश जाने युवाको लहर देख्दा उनलाई चिन्ता लाग्छ । एयरपोर्टमा बाहिरिनेको भीडले उनको मन चिरिन्छ। तर, उनलाई नेपालमा अवसर नभएपछि नै उनीहरू विदेश गएको जस्तो लाग्छ ।

‘मेरो आफ्नै छोरो क्यानडामा गएको दुई वर्ष भयो । म व्यवसाय गरिरहेको छु तर पनि मैले मेरो छोरालाई नेपालमा बस भन्न सकिनँ । मैले गर्ने काम अबको पुस्ताले नेपालमा गर्न सक्दैन । उनीहरू जुन वातावरणमा हुर्किएका छन्, त्यो हिसाबले उनीहरूलाई नेपालमा भविष्य छ भनेर बाँधेर राख्न सकिनँ ।’

उनी नेपालमा भएका विद्यार्थीहरूलाई विदेश जानुहुँदैन भनेर आग्रह गर्ने पक्षमा छैनन् । अध्ययनका लागि विदेश जानु राम्रो भएको उनको भनाइ छ । यदि सकिन्छ भने स्वदेश फर्कन उनको सुझाव छ । तर उनी यसका लागि पनि दबाब दिन नहुने पक्षमा छन् उनी ।

‘अहिले कलेज पढिरहेका जति पनि भाइहरू छन्, उनीहरूले नेपालमा बसेर के गर्ने त ? सरकारले त्यसको व्यवस्था पनि गर्न सकेको छैन। केही पनि नै छैन त, अनि किन बस्छन् नेपाल उनीहरू ? बाहिर जानुहुँदै भन्ने पक्षमा म छैन, मैले त्यसो भन्दा मान्छे हाँस्छन् ।’

उनले थप्छन्, ‘ठूला नेता र उद्योगपतिका केही सन्तानबाहेक मध्यम वर्गका सन्तान सबै बाहिरै छन् । भएको घरजग्गा र सम्पत्ति बेचेर पनि अहिले मानिस विदेश गइरहेका छन् । बुवाआमाले नै नेपाल भाविष्य नेदेखेर बाहिर पठाएका पनि छन् । सके फर्कनु नभए उज्वल भविष्यको कामना ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित