काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सुविधा र डिजिटल ग्याजेट (आइप्याड) प्रयोग गर्न दिएको भन्दै प्रहरीमाथि नै उच्चस्तरीय छानबिन सुरु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेको समयमा व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई नियमविपरीत सुविधा दिएको उजुरी परेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको हो । कार्यालयका डीआईजी ओम अधिकारीको नेतृत्वमा समिति गठन भएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरेको थियो । विभागको आफ्नै हिरासत नभएका कारण उनीहरूलाई अनुसन्धानका लागि ललितपुर प्रहरीको हिरासतमा राखिएको थियो । तर, हिरासतमा रहँदा उनीहरूलाई सामान्य थुनुवालाई भन्दा फरक, सुविधासम्पन्न ठाउँमा राखिएको र मोबाइल तथा आइप्याडजस्ता डिजिटल उपकरण प्रयोग गर्न दिइएको सूचना बाहिरिएको थियो ।
विशेष गरी सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड चलाइरहेको फेला परेपछि प्रधानमन्त्री कार्यालयमा समेत यसबारे उजुरी पुगेको थियो । शुलभलाई आइप्याड र विशेष सुविधा किन र कसको मिलेमतोमा दिइएको हो भन्नेबारे सुक्ष्म छानबिन भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
छानबिन सुरु भएपछि व्यवसायी अग्रवाललाई ललितपुर प्रहरीको हिरासतबाट पुनः सम्पत्ति शुद्धीकरण विभागमै बुझाइसकिएको छ । हाल अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

































