काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता चीनको भ्रमण गर्ने भएका छन् । उनी दुईदिने भ्रमणका लागि मंगलबार बेइजिङ आउने कार्यक्रम तय भएको रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले शनिबार जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति पुटिनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरी मस्को र बेइजिङबिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्नेबारे छलफल गर्नेछन् ।
पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा पनि विचार आदानप्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
भ्रमणका क्रममा पुटिनले चीनका प्रधानमन्त्री ली छिआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार सम्पन्न भएपछि पुटिनको भ्रमणको घोषणा गरिएको हो ।
भ्रमणले रुस–युक्रेन युद्धलगायत व्यापार र भूराजनीतिक तनाव कम गर्न भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गरेको छ ।





































