काठमाडौं । रास्वपाबाट समानुपातिक सांसदमा बागलुङबाट निर्वाचित गंगा छन्त्यालले आफू निर्वाचित गाउँपालिकाकै नाम थाहा नपाएपछि विवादमा तानिएकी छन् । सोमबार बागलुङको बडिगाड गाउँपालिकाले बागलुङ क्षेत्र न २ बाट निर्वाचित सांसद सोम शर्मा र समानुपातिक सांसद गंगा छन्याललाई सम्मान गरेको थियो । सोही फोटो सांसद गंगा छन्त्यालले गलकोट गाउँपालिका भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । उक्त पोष्टपछि उनको तिब्र आलोचना भएको छ । आफ्नै निर्वाचन क्षेत्रको नामसम्म थाहा नहुने भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हाे ।
६ पटक सच्चाइन् पोष्ट
बडिगाड गाउँपालिकाले सम्मान गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी उनले ६ पटक पोष्ट सच्चाएकी छन् । सुरुमा आज गलकोट नगर अस्पतालको अवलोकन लेखेकी छन्त्यालले २ मिनेटपछि गलकोट नगर अस्पतालकाे अवलोकन भन्दै पोष्ट सच्चाएकी छन् । त्यसकाे १ मिनेटपछि गलकोट गाउँपालिकाको अवलोकन भन्दै सोही पोष्ट सच्चाएकी छन् । फेरि १ मिनेटमा सोही पोष्ट सच्चाउँदै गलकोट गाउँपालिका भन्दै लेखेकी छन् । २० मिनेटपछि फेरि पोष्टलाई सच्चाउँदै हामी गलकोट गाउँपालिकामा भन्दै सच्चाएकी छन् ।
तर अझै फोटो खिचेको पालिका थाहा नपाएकी सांसद छन्त्यालले २ मिनेटको अन्तरालमा हामी बडिगाड गाउँपालिकामा भन्दै पोष्ट सच्चाएकी छन् । उनले ४७ मिनेटमा ६ पटक पोष्ट सच्चाउँदा पनि पालिकाको नाम थाहा नपाएपछि विवादमा परेकी हुन् । उनले सामाजिक सञ्जालमा राखेको सामग्रीमा आफू निर्वाचित पालिकाको नाम भुलेको भन्दै फेसबुकमा उनको आलोचना भएको छ । अहिले उक्त पोष्ट रास्वपा सांसद छन्त्यालले हटाएकी छन् ।





































