काठमाडौं । सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको छ । मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण शुक्रबार अवकासमा जान लागेसँगै सरकारले नयाँ मुख्यसचिव नियुक्ति गरेको छ ।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले अर्याललाई गत मंसिर ८ मा मुख्यसचिव नियुक्त गरेको थियो । मुख्यसचिव नियुक्त नभएको भए अर्याल ०८२ माघ १९ मा अवकासमा गइसकेका हुने थिए । २०७७ माघ १९ मा सचिव बनेका अर्याल पाँच वर्षे पदावधि सकिनु दुई महिना अगावै मुख्यसचिवमा नियुक्ति पाए ।
अब उनी ५८ वर्षे उमेर हदका कारण शुक्रबार मुख्यसचिवबाट अवकासमा जान लागेका हुन् । उनी अवकासमा जानुअघि नै सरकारले मुख्यसचिव नियुक्ति गरेको हो ।

































