काठमाडौं । प्रभु म्याजमेन्टकी अध्यक्ष कसुम लामाले प्रभु बैंक र प्रभु म्यानेजमेन्टका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन भाग्छन् भन्ने नलागेर आफूले चेकहरूमा हस्ताक्षर गरेको बताएकी छन् ।
देवी प्रकाश भट्टचनको सेयर ट्रान्सफर गर्नुको उद्देश्य अशोक शेरचन र देवी प्रकाश भट्टचनको मिलेमतोमा भट्टचन समूहलाई प्रभु म्यानेजमेन्टबाट उन्मुक्ति दिलाउनु रहेको लामाले प्रहरीसँगको बयानमा भनेकी छन् ।
प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभि, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको उनको दाबी छ ।
यस्तो छ कुसुमको बयान
प्रभु म्यानेजमेन्ट प्रा.लि २०६९/०२ /२१ गते स्थापना भएको कम्पनी हो। प्रभु म्यानेजमेन्ट प्रालि, प्रभु मनी ट्रान्सफरको सुपर एजेन्ट भई सहकारी संस्थाहरुलाई एजेन्ट बनाई प्रभु मनी ट्रान्सफरको विप्रेषण सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो ।
प्रभु म्यानेजमेन्ट प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं जिल्ला लैनचौरमा रहने गरी प्रभु मनी ट्रान्सफरको बिल्डिङमा एउटा कोठा लिई काम गर्न सुरु भएको हो ।
सोही अनुरुप प्रभु मनी ट्रान्सफरले प्रभु म्यानेजमेन्ट प्रालिले सुपर एजेन्ट बनाए पश्चात प्रभु म्यानेजमेन्ट प्रालिले सहकारीहरुलाई प्रभु मनी ट्रान्सफरको एजेन्ट बनाई काम सुरु गरेको हो ।
उक्त सुपर एजेन्ट सम्झौता २०८१ /०३/०५ गतेको प्रभु मनी ट्रान्सफरको चलानी नं.CD/48/080/081 को पत्रले मितिः २०८१ / ०३ / १५ गतेबाट कारोवार बन्द हुने जानकारी गराए पश्चात प्रभु म्यानेजमेन्ट प्रालिको कारोवार बन्द रहेको छ ।
म प्रभु म्यानेजमेन्ट प्रालिको स्थापना कालमा संचालक एवं प्रमुख कार्यकारी अधिकृत रहेको थिएँ तर मेरो काम IT Development, Network Design,Training materials बनाउने र सहकारीहरुको लागि तालिम संचालन गर्ने प्रमुख भूमिका रहेको थिएँ ।
खातामा मेरो र दक्ष पौडेलको दस्तखत चल्दथ्यो तर सम्पूर्ण कारोवार देवी प्रकाश भट्टचनको निर्देशनमा लेखा प्रमुख गणेश घिमिरेले गर्ने गरेका थिए ।
कम्पनी स्थापना हुँदा कम्पनीमा बिनोद थकाली (देवी प्रकाश भट्टचनको बहिनी ज्वाई ) को २०%, देवी प्रकाश भट्टचनको ५०%, दक्ष पौडेल सुभाषको १०%, म कुसुम लामाको २०% थियो । सो समयमा बिनोद थकालीले २०% सेयर बापत बिस लाख, देवी प्रकाश भट्टचनले ५०% सेयर बापत पचास लाख, दक्ष पौडेल सुभाषले १० % सेयर बापत दस लाख, म कुसुम लामाले २०% सेयर बापत बिस लाख लगानी गरेका थियौ ।
मितिः २०७०/१०/२१ मा बिनोद थकालीले आफ्नो सम्पूर्ण सेयरबाट देवी प्रकाश भट्टचनलाई ५% हस्तान्तरण गरी ५५% सेयर (मुख्य सेयर धनी) बनाएका हुन् भने म कुसुम लामाको नाममा १५% सेयर बिक्री गरी कम्पनी छोडेका थिए । कम्पनी छोड्दा बिनोद थकाली प्रभु म्यानेजमेण्ट प्रालिका अध्यक्ष थिए । विनोद थकालीले छोडे पश्चात देवी प्रकाश भट्टचन मिति : २०७१/०९/१२ सम्म यस कम्पनीमाका अध्यक्ष बनेका हुन् । म सो समयमा कम्पनीमाको संचालक मात्र रहेको थिएँ ।
२०७१/०९/१३ मा मिजास भट्टचन ( देवी प्रकाश भट्टचनको सहोदर भतिज) को नाममा देवी प्रकाश भट्टचनले आफ्नो नाममा रहेको सम्पूर्ण ५५% सेयर हस्तान्तरण गरेका हुन् । सो समय देखि म कुसुम लामा प्रभु म्यानेजमेण्ट प्रा. लि. को अध्यक्ष भएको हुँ। निज मिजास भट्टचन नाबालाक भएको कारण निजको नाममा रहेको ५५% सेयर मध्ये १% हुन आउने सेयर प्रभु मनी ट्रान्सफरका कर्मचारी ध्रुव चन्द्र धितालको नाममा नामसारी गराई निज ध्रुव चन्द्र धिताललाई संचालक समेत बनाएका थिए ।
सो पश्चात मितिः २०७४/२/११ मा मिजाश भट्टचनको नाममा बाँकी रहेको ५४% सेयर शिक्षा भट्टचन ( देवी प्रकाश भट्टचनको कान्छी छोरी) को नाममा नामसारी गरेका हुन् । त्यसैगरी दक्ष पौडेल सुभाषले आफ्नो नाममा रहेको १०% सेयर २०७१/०९/१३ मा आफ्नो साढदाजु (श्रीमतीको दिदीको श्रीमान) शिव शर्मा आचार्यको नाममा नामसारी गरिदिए र पुनः शिक्षा भट्टचनको कम्पनीमा प्रवेश भए पश्चात २०७४/०२/११ मा शिव शर्मा आचार्यको नामको रहेको १०% सेयर दक्ष पौडेल सुभाषले आफ्नो नाममा ल्याएका हुन् ।
२०७७/०३/१५ मा शिक्षा भट्टचन र ध्रुव चन्द्र धितालका नाममा रहेका सेयरहरु प्रभु म्यानेजमेण्ट प्रालिका कर्मचारीहरु हेम कुमार महाजु, श्रुतिका तामाङ लामा, गणेश घिमिरे र नारायण ढकालको नाममा प्रभु म्यानजेमेण्ट कम्पनीबाटै पेश्की दिलाई सो रकमबाट सेयर ट्रान्सफर गरेको देखाई सो सेयर बापतको रकम झिकी शिक्षा भट्टचन र ध्रुवचन्द्र धितालले लगेका हुन् ।
शिक्षा भट्टचनको नाममा रहेको कम्पनीको सेयर खरिद गर्नको लागि प्रभु म्यानेजमेन्टबाट ५ जुलाइ २०२० मा श्रुतिका तामाङ लामाको हिमालयन बैंक लि.को खाता नं. 07300220532018 मा रु.१,८०,००,००० ।– (एक करोड असी लाख) जम्मा गरिदिई ६ जुलाई २०२० मा इनवार्ड चेक पेमेन्ट गरी चेक नं. 48670.. बाट शिक्षा भट्टचनलाई उक्त रु. १,८०,००,००० ।– (एक करोड असी लाख) भुक्तानी दिईएको देखिन्छ । त्यसै गरी शिक्षा भट्टचनको नाममा रहेको कम्पनीको सेयर खरिद गर्नको लागि प्रभु म्यानेजमेन्टबाट ६ जुलाइ २०२० मा हेम कुमार महाजुको प्रभु बैंक लि.को खाता नं. 0520068635900…मा रु.१,०८,००,०००।– (एक करोड आठ लाख) जम्मा गरिदिई ६ जुलाई २०२० मा इनवार्ड चेक पेमेन्टबाट शिक्षा भट्टचनलाई उक्त रु.१,०८,००,०००।–(एक करोड आठ लाख ) भुक्तानी दिईएको देखिन्छ ।
सेयर खरिद गर्ने अन्य कर्मचारीहरु नारायण ढकाल(ध्रुव चन्द्र धितालबाट सेयर खरिद गर्ने), गणेश कुमार घिमिरेको हकमा समेत प्रभु म्यानेजमेण्टबाट खातामा रकम जम्मा गरिदिई सेयर खरिद भएको हो । निजहरुको खाताको विवरण हाल मसँग छैन ।
कम्पनीमा सुरुमा लगानी भएको पुजी एक करोड रुपैंया बाहेक थप पुँजी बृद्धी गर्दा कुनै पनि सेयर धनीले आफ्नो व्यक्तिगत रकम हालेका होइनन् ।
कम्पनीमा रेमिट्यान्स बापत आएको रकम र एजेन्ट सहकारीहरुबाट उठाईएको धरौटी रकमबाट नै पुँजी बृद्धी गरिएको हो । दक्ष पौडेलको १०% प्रतिशत सेयर म कसुमा लामाको नाममा नामसारी गरिएको हो । ध्रुव चन्द्र धितालको १% सेयर नारायण ढकालको नाममा नामसारी गरिएको थियो । सो सेयर समेत मेरो नाममा आएको छ । हाल म एकल सेयरधनी / संचालक रहेको छु ।
कर्मचारीहरु सेयर खरिद गर्ने र कम्पनीको मालिक बनी कम्पनी संचालन गर्ने आर्थिक हैसियत नभएका व्यक्तिहरु हुन् । त्यसैले देवी प्रकाश भट्टचनको निर्देशनमा प्रभु म्यानेजमेण्टको संचालक समितिको कुनै खबर बिना नै सेयर खरिद गर्नको लागि आवश्यक रकम कम्पनीको खाताबाट कर्मचारीको खातामा सन् २०२० जुलाई ६र७ मा गरी रकमान्तरण गर्न लगाई कर्मचारीहरुको चेक लगी सोही दिन शिक्षा भट्टचन र ध्रुव चन्द्र धितालको व्यक्तिगत खातामा जम्मा गरेका छन् । सो रकम कम्पनीमा अझै फिर्ता आएको छैन ।
प्रभु टेक्नोलोजी प्रा.लि. प्रभु पे भन्ने कम्पनी २०७१/०९/१५ गते दर्ता भई घाटामा संचालन भएको थियो । त्यस कम्पनीमा देवी प्रकाश भट्टचनको ६०% र प्रभु म्यानेजमेण्ट कम्पनीको ४०% सेयर लगानी रहेको थियो । जसको पुँजी रकम १० करोड रहेको थियो ।
कम्पनी घाटामा संचालन भएको हुँदा देवी प्रकाश भट्टचनले आफू प्रभु बैंकको अध्यक्ष भएको र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँग प्रभु पेलाई प्रभु बैंकले खरिद गर्ने कुरा गरेको हुनाले प्रभु पेबाट आफ्नो नाम अध्यक्ष र सेयर होल्डरबाट हटाएमा प्रभु बैंकले खरिद गर्न सक्छ भनेको हुँदा देवी प्रकाश भट्टचनको नाम हटाई दिन निजले मलाई निर्देशन दिएका थिए । त्यसताका देवी प्रकाश भट्टचन प्रभु बैंकका अध्यक्ष र प्रभु पे का पनि अध्यक्ष थिए ।
घाटामा संचालित कम्पनीमा कुनै पनि नयाँ लगानीकर्ता सेयरधनी हुन ईच्छुक हुँदैन । सो कारण के गर्ने भनी सोध्दा देवी प्रकाश भट्टचनको परिवारको मुख्य सेयर भएको प्रभु म्यानेजमेण्टबाटै उक्त सेयर खरीद गर्न निर्देशन दिई प्रभु म्यानेजमेण्टले निज देवी प्रकाश भट्टचनको नाममा रहेको ६०% सेयर थप खरिद गरी सो सेयर मध्ये म कुसम लामाको नाममा २८% र प्रभु म्यानेजमेण्टको नाममा ३२% र पहिलेको साविक ४०% सहित गरी ७२% सेयर प्रभु म्यानेजमेण्टको नाममा कायम गरी सम्पुर्ण सेयर खरिद गर्न प्रभु म्यानेजमेण्टको रु. १० करोड खर्च भएको छ ।
देवी प्रकाश भट्टचनको नाम प्रभु पेबाट नामसारी गरे पश्चात प्रभु बैंकका कार्यकारी प्रमुख अशोक शेरचनले नाटक मंचन गरी प्रभु पेको डीडीए गर्न एनबीएसएम चार्टड एकाउन्टेण्ड फर्मलाई जिम्मा दिई डीडीए गराएका हुन् ।
सो पश्चात प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन र प्रभु टेक्नोलोजी-प्रभु पे का मालिक प्रभु म्यानेजमेण्ट रहेको, प्रभु म्यानेजमेण्टमा देवी प्रकाश भट्टचनकै छोरी समेत मुख्य सेयरधनी भएको हुनाले प्रभु बैंकले प्रभु टेक्नोलिजी प्रभु पे खरिद गर्न नेपाल राष्ट्र बैंकले अनुमति नदिने भएकाले देवी प्रकाश भट्टचनको समूहलाई नेपाल राष्ट्र बैंकलाई कागजी रुपमा देखाउन मात्र प्रभु म्यानेजमेण्टको सेयर लगतबाट हटाउनु पर्यो भनी देवी प्रकाश भट्टचनले प्रभु म्यानेजमेण्टका कर्मचारीहरुलाई प्रभु म्यानेजमेण्टकै रकम पेश्की स्वरुप बैंक मार्फत रकमान्तर गर्न लगाई छोरी शिक्षा भट्टचन र ध्रुवचन्द्र प्रभु म्यानेजमेण्टको सेयर धनीबाट नाम हटाउन लगाएका हुन् ।
सोही बखत देवी प्रकाश भट्टचनलाई नेपाल राष्ट्र बैंकले प्रभु बैंकको अध्यक्ष पदबाट राजिनामा गर्न लगाएको हुनाले केही समय रोक्नु पर्ने भन्ने नाटक गरेका हुन् । सो पछि देखि बारम्बर ताकेता गर्दा पनि अशोक शेरचनले उक्त कम्पनी खरिद गर्ने चासो नराखेको कारण हाल उक्त कम्पनी नेपाल राष्ट्र बैंकले अनुमती नविकरण गरेको छैन । देवी प्रकाश भट्टचनको सेयर ट्रान्सफर गर्नुको उद्देश्य अशोक शेरचन र देवी प्रकाश भट्टचनको मिलेमतोमा भट्टचन समूहलाई प्रभु म्यानेजमेन्टबाट उन्मुक्ति दिलाउनु थियो ।
प्रभु म्यानेजमेण्ट प्रा.लि.बाट विप्रेषण बापतको भुक्तानी दिने रकम तथा सम्झौता भएका प्रत्येक एजेन्ट सहकारीसँग डिपोजिट स्वरुप लिईएको रकम आफूखुसी अपचलन गर्न मिल्ने होईन । सहकारीबाट मात्र होईन अन्य निकायबाट समेत कम्पनीमा आएको रकमहरु आफूखुसी अपचलन गर्न मिल्दैन ।
कम्पनीमाको रकम प्रयोग भएको भए सोको ब्याज सहित फिर्ता गर्नु पर्ने हुन्छ । देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्मेण्ट, राम जानकी मेडिकल कलेज, सिम्रीक एयर, प्रभु टिभि, हेल्लो पैसा जस्ता कम्पनीमाहरुमा प्रभु म्यानेजमेण्टको पैसा गएको हो । देवी प्रकाश भट्टचन र अशोक शेरचनको प्रभु म्यानेजमेण्टलाई बैंक र सहकारीको रकमहरुको भारी बोकाएर भाग्छन् र भगाउँछन् भन्ने थाहा थिएन । त्यसैले आएको चेकहरुमा मैंले दस्तखत गरेको हुँ । देवी प्रकाश भट्टचन लगायतहरुबाट सम्पूर्ण रकमहरु असुल गरी सहकारी र बैंकहरुलाई चुक्ता गरी कम्पनी बन्द गर्छु भनी बसेको छु भन्ने समेत व्यहोराको प्रतिवादी छु कुसुम लामाले गरी दिएको बयान ।





































