काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सहभागी क्रिकेट खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डिगढ बस्ने २४ बर्सिया रेविका सिंह ठकुरीलाई बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
प्रहरीका अनुसार खेलको नतिजा आफू अनुकूल बनाउन उनीहरूले ‘खेलाडीलाई स्पन्सर गर्छौँ’ भन्दै ह्वाट्स एप, इन्स्टाग्रामबाट सन्देश पठाएका थिए। उनीहरुले आफूले भने अनुसार रन आउट भएमा एक करोडसम्म दिने प्रस्ताव गरेका थिए।
उनीहरुले एनपिएलमा सहभागी विभिन्न समूहका खेलाडीहरुलाई ह्वाट्सएपबाट मेसेज पठाउँदै आफूहरुले खेलाडीहरुलाई स्पन्सर गर्ने गरेको र आफूहरुले भने अनुसार गरे एक करोडसम्म दिने प्रस्ताव गरेको सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो ।
खोजीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। एनपिएल शुरु भए लगत्तै जुवा खेलाउने अनि म्याच फिक्सिङ गराउने समूह सक्रिय हुने गरेका छन्। गत वर्ष पनि अनलाइन जुवा खेलाउनेहरु पक्राउ परेका थिए। बुधवार त म्याच फिक्स गराउनेहरु नै भेटिए।
एक अनुसन्धान अधिकारीका अनुसार बुधवार पक्राउ परेकामध्ये एक नेपाली युवती भारतमा बस्दै आएकी छिन्। उनले भारतबाटै एनपिएलमा छानिएका खेलाडीहरुसँग इन्टाग्राम र पछि ह्वाट्सएपमा सम्पर्क गरेकी थिइन्। खेलाडीहरु छलफल गर्न राजी भएपछि उनी भारतीय युवक लिएर नेपाल आएकी थिइन्।
नेपाल आएपछि ती युवतीले क्रिकेट खेलाडीहरुलाई आफूले खेलाडीहरुलाई स्पन्सर गर्ने गरेको भन्दै आर्थिक प्रलोभन दिन थालेकी थिइन्। उनले सात खेलाडीलाई सन्देश पठाएको खुलेको छ। सातमध्ये केही खेलाडीहरुले उत्तर पनि दिएका थिए।
ती खेलाडीहरुमध्ये एक खेलाडीले ती युवतीसँग एनपिएलका लागि आफू बसेको होटलमै बोलाएर भेटेको समेत प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धानमा युवतीले ती खेलाडीलाई आफ्नो होटलमा बोलाएको तर खेलाडीले होटलबाट निस्कन नमिल्ने भन्दै आफू बसेकै होटलमा बोलाएका थिए।
होटलमा ती युवती भारतीय युवकसहित पुगेका थिए। छलफलकोक्रममा उनीहरुले एनपिएलको खेलाडीलाई आफूले भने अनुसारको म्याचमा रन आउट भएमा एक करोडसम्म दिनसक्ने अफर गरेका थिए। यो सूचना प्रहरीमा पुगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान शुरु गरेको थियो।



































