एजेन्सी । फ्रान्सको समुद्र किनार वा सार्वजनिक पार्कमा धुम्रपान गर्न रोक लगाइएको छ । बालबालिकालाई निष्क्रिय धुम्रपानको खतराबाट जोगाउने उद्देश्यले आइतबारदेखि नयाँ नियमअन्तर्गत यो कानुन लागु हुनेछ र उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनेछ ।
शनिबार सरकारी राजपत्रमा प्रकाशित भएको एक दिनपछि लागू हुन लागेको प्रतिबन्धका कारण पुस्तकालय, स्विमिङ पुल र विद्यालय आसपासका बस स्टप र क्षेत्रहरू पनि प्रभावित हुनेछन् ।
समुन्द्री किनारमा बालबालिकालाई धुम्रपानको प्रभावबाट जोगाउन फ्रान्समा विद्यालय बिदा सुरु हुनुभन्दा एक साताअघि नै यो नियम लागू गरिएको छ ।
प्रतिबन्धको निर्णयबाट खुशी बनेका तम्बाकू विरोधी अभियन्ताहरूले सरकारको प्रतिबन्धले बार र रेस्टुरेन्टका छतहरूलाई नसमेटेकोमा भने चिन्ता व्यक्त गरेका छन् । विद्युतीय चुरोटमा पनि प्रतिबन्ध नलाग्दा उनीहरू दुःखी छन् ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै घोषणा गरेपछि सुरुमा यो नियम मंगलबारदेखि लागू हुने अपेक्षा गरिएको थियो तर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा लैजान यसलाई आइतबारका लागि सारिएको थियो ।
नयाँ नियमअनुसार विद्यालय, स्विमिङ पुल, पुस्तकालय र अन्य स्थानको १० मिटरको परिधिभित्र धुम्रपान गर्नपाइनेछैन । स्वास्थ्य मन्त्रालयले आगामी दिनमा यी क्षेत्रमा धुम्रपानका लागि न्यूनतम दूरी घोषणा गर्नुका साथै त्यस्ता क्षेत्र तोक्न प्रयोग गरिएको सङ्केत समेत सार्वजनिक गर्ने जनाएको छ ।


































