बागलुङ । बागलुङ नगरपालिकाले एक अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२।८३ का लागि सो बजेट सार्वजनिक गरेका हुन् ।
सोमबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरसभामा नगरउपप्रमुख राजु खड्काले बालमैत्री कार्यक्रम नगरपालिकाको सफल कार्यक्रम रहेको बताउदै दिगोपानाका लागि २० लाख बजेट बिनियोजन गरेको बताए । बालमैत्री घोषणापश्चात सुचकहरु घट्दै गएकोमा चिन्ता व्यक्त भइरहेको सन्दर्भमा नगरपालिकाले दिगोपनालाई चासो नदिएको बजेटबाट प्रष्ट भएको देखिन्छ । बालमैत्री घोषणा कार्यक्रमकै करिब ७ लाख रकम भुक्तानी गर्न अझै बाँकी रहेको छ ।
नगरपालिकाले संघीय सरकारबाट हस्तान्तरण भएर आएको कार्यक्रममा नेपाली कांग्रेस बागलुङको भवन निर्माणमा ७० लाख विनियोजन गरेको छ । संघीय सरकारले हस्तान्तरण गरेको कार्यक्रममा बागलुङ नगरपालिका–३ मा वि।पि स्मृति भवन निर्माणका लागि रु। ७० लाख विनियोजन भएको छ । कांग्रेस पार्टी कार्यालयको भवनलाई विपी स्मृति भवनको नाममा स्थानीय पालिकाले समेत यस अघि बजेट राखेका थिए । नगरपालिकाले पहिलो वर्षनै रु। २० लाख बजेट बिनियोजन गरेको थियो ।
































